बेसीशहर, चैत १७ । नेकपा एमाले लमजुङको बेसीशहरमा जारी नवौं जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन नै हुने संकेत देखिएको छ ।
शुक्रबार उदघाटन सत्र सकिएपछि शुरु भएको बन्दसत्र यो समाचार तयार पार्दासम्म (चैत्र १७ दिउसो २ बजे) सम्म जारी छ । बन्दसत्र सकिएपछि नेताहरुले नेतृत्वमा सहमतिको प्रयास गर्ने बताएका छन् । यद्यपी सहमति हुन सक्ने संकेत नदेखिएकोले निर्वाचन नै हुने पक्का पक्की भएको छ ।
नेताहरुले सहमतिको प्रयास नथाल्दै अध्यक्षका प्रत्यासी दुईजनाको पक्षमा सामाजिक सञ्जालमा प्रचार शुरु भएपछि सहमति हुने अवस्था बाँकी नरहेको पुष्टि भएको छ ।
नवौं अधिवेशनमा अध्यक्ष पदका लागि कृष्णप्रसाद अधिकारी र राजकुमार विष्टबीच नै टक्कर हुने पक्का भएको छ । दुवैजनाको पक्षमा सामाजिक सञ्जालमा प्रचार शुरु भएपछि प्यानलबीच निर्वाचन हुने निधो भएको हो । यद्यपी सामाजिक सञ्जालमा अध्यक्ष पदका लागि मात्र प्रचार भएको छ ।
अधिवेशनमा केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य जमीन्द्रमान घले, प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीको समर्थन राजकुमार विष्टलाई छ । अधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई भेटघाट गरी उनीहरुले राजकुमार विष्टको प्यानललाई जिताउन आग्रह गरिरहेका छन् ।

कृष्णप्रसाद अधिकारी स्थायी समितिका सदस्य खगराज अधिकारी पक्षीय हुन् । लमजुङमा उनलाई मायानाथ अधिकारी लगायतका नेताहरुको समर्थन छ ।
गण्डकी प्रदेशमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको टकराव छ । यसकै फलस्वरुप विभिन्न जिल्ला अधिवेशनहरुमा यी दुई पक्षीय नेताहरुबीच प्रतिस्पर्धा भइरहेको छ ।
लमजुङ उपमहासचिव गुरुङको गृह जिल्ला भएकाले पनि लमजुङको एमाले अधिवेशनले विशेष महत्व पाएको छ । स्वयं गुरुङ आफ्नो पक्षको प्यानल राजकुमार विष्टको प्यानललाई जिताउन लागि परेका छन् ।
स्थायी कमिटीका सदस्य खगराज अधिकारी अधिवेशनलाई शुभकामना दिएर शुक्रबारै फर्किसकेका छन् । उनको सुभेच्छा कृष्णप्रसाद अधिकारीको प्यानललाई छ ।
कृष्णप्रसादको प्यानलबाट उपाध्यक्ष पदमा सुभाष पौडेल, सचिवमा जनकराज मिश्र, उपसचिवमा राजेन्द्र अधिकारी उठ्ने तरखरमा छन् ।
अर्को प्यानलबाट अध्यक्ष पदमा राजकुमार विष्ट, उपाध्यक्षमा जीतबहादुर गुरुङ, सचिवमा राजेन्द्र बोहोरा, उपसचिवमा विवश बुढाथोकी,राममाया थापाले उमेदवारी दिने तयारी रहेको बुझिएको छ ।

महिला उपसचिव पदमा पवित्रा थापा रानाले पनि उमेदवारी दिने तय भएको छ । खबरकुञ्जसंगको कुराकानीमा उनले आफू कुनै प्यानलमा नरहेको बताइन् ।
अधिवेशनबाट कस्तो नेतृत्व आउँछ, को को नेताहरुले चुनाव जित्छन् भन्ने कौतुहल एमाले कार्यकर्ताबीच अहिले बहस भइरहेको छ । पार्टीका उपमहासचिव लगायतका नेताहरुले राजकुमार विष्टको समर्थन गरिरहँदा विष्टको प्यानल विजयी हुने अड्कलबाजी गर्ने एकाथरि छन् ।
यद्यपी केही अधिवेशन प्रतिनिधिहरु राजकुमार विष्टले पार्टीमा त्यति धेरै क्रियाशीलता नदेखाएका र पार्टीको पदाधिकारी समेत नरहेकाले उनलाई नेताहरुले समर्थन गर्दैमा उनको जीत नहुने बताउँछन् । नेताहरुले काखी च्याप्दैमा हुन्छ र ? मत दिने त हामीले हो नि ! भन्नेहरु पनि भेटिएका छन् । नेताहरुको समर्थन नभए पनि अहिलेसम्म पार्टीका लागि गरेको कामको आधारमा कृष्णप्रसाद अधिकारी, सुभाष पौडेल, जनकराज मिश्र जस्ता बौद्धिक र क्षमतावान ब्यक्तिहरुलाई नेतृत्व दिनुपर्ने उनीहरुको मत छ ।
अध्यक्ष पदका प्रत्यासी कृष्णप्रसाद अधिकारी भन्छन्- “सबै एकातिर म अर्कोतिर भए पनि केही छैन, मेरो वेट घट्दैन । म चुनाव जित्छु । मैले २०५४ सालदेखि अनवरत रुपमा पार्टीको लागि खटेको छु मेरो कामको मूल्याङ्कन साथीहरुले गर्नुहुने छ । राजकुमारजीसंग मेरो प्रतिस्पर्धा नै होइन ।”
अधिकारी लगातार २०५४ सालदेखि नेकपा एमालेमा क्रियाशील छन् । उनी वकील पनि हुन् । पार्टीको जिल्ला कमिटी सदस्य सचिव र जिल्ला अध्यक्षसमेत भएका उनी आठौं, नवौ, दशौं र विधान महाधिवेशन र प्रदेशको पहिलो अधिवेशनको समेत प्रतिनिधि हुन् ।
विष्ट भने प्ररायुसंघको जिल्ला अध्यक्ष, एक पटक जिल्ला कमिटीको सदस्य र हाल बेसीशहर नगर कमिटीको अध्यक्ष हुन् ।