बेसीशहरका मेयरकाे चित्त दुखाइः महाेत्सवलाइ दिएकाे रकम उपयोगै नभई संघको खातामा गयाे

कल्पना शर्मा दनाई

बेसीशहर बैशाख ७ गते । बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले लमजुङ महोत्सव २०८० आयोजना गर्न नगरपालिकाबाट दिइएको रकम कतै उपयोग नभई उद्योग बाणिज्य संघको खातामा राखिएको भन्दै चित्त दुखाएका छन् ।

लमजुङ उद्योग बाणिज्य संघले गत चैत २३ देखि बैशाख ५ गतेसम्म आयोजना गरेको लमजुङ महोत्सवका लागि बेसीशहर नगरपालिकासहित सहित जिल्लाका आठवटै स्थानीय निकायले सहयोग उपलब्ध गराएका थिए । बेसीशहर नगरपालिकाले महोत्सवका लागि २ लाख ८० हजार रुपैयाँ सहयोग गरेको थियो । तर नगरपालिकाले दिएको रकम महोत्सवको कुनै काममा खर्च नगरी सिधै संघको खातामा लगेर जम्मा गरिएको भन्दै मेयर अर्यालले चित्त दुखाएका हुन् ।

बेसीशहरमा आयोजित एक कार्यक्रममा मन्तब्य राख्दै मेयर अर्यालले लमजुङ उद्योग बाणिज्य संघले महोत्सव गर्नका लागि सहयोग माग्ने तर महोत्सव भने ठेक्कामा दिएर सहयोग दिएको रकम बैंक खातामा राखेको भन्दै संघको वर्तमान नेतृत्वको आलोचना गरे ।

मेयर अर्यालले भने- “महोत्सव गर्ने भने, ठीक छ, हाम्रो सामान्य मूल्यमान्यताको जगेर्ना गर्नुपर्छ, ब्यवसायको प्रबद्र्धन गर्नुपर्छ भनेर हामीले सहयोग गर्‍यौं । तर अहिलेको टीमले के गरेछ भने मञ्च, टिकटको रकम समेत आफूले नलिइकन २१ लाख रुपैयाँ ठेकेदारसंग लिएर सबै जिम्मा ठेकेदारलाई दिनुभएछ । मलाई नि थाह भएन पहिला, हामी काम गछौं सहयोग गर्नुपर्छ भनियो । मैले के गर्नुपर्‍यो भनि सोधें, उनीहरुले बत्तीको ब्यवस्था गरिदिनु पर्‍यो भने । मैले ८० हजार उपलब्ध गराइदिएँ । पछि थप सहयोग मानेपछि थप २ लाख रुपैयाँ दिइयो । तर उहाँहरुले त केही पनि काम गर्नुभएन । बिचौलियाको जस्तो काम गर्नुभयो । उहाँहरुले एउटा मञ्च पनि नबनाउने, महोत्सवमा आएका कलाकारको पैसा पनि उही ठेकेदारले दिँदो रहेछ ।”

मेयर अर्यालले महोत्सव अघि नै मञ्च भत्काउने मान्छे नल्याउनु भनि आफूले सुझाव दिएको पनि स्मरण गरे । उनले पर्यटनलाई प्रबद्र्धन गर्ने, शिक्षा स्वास्थ्यमा जनचेतना फैलाउने र विकृति विसंगति न्यूनिकरण गर्ने खालका दोहोरी प्रतियोगिताहरु चलाउन आफूले दिएको सुझावको सुनुवाइ नभएको समेत गुनासो गरे ।

मेयर अर्यालले यिनै बिषयमा चित्त दुखाइ भएर महोत्सवको समापनमा आफूलाई त्यहाँ जान मन नलागेर नगएको पनि बताए । उनले भने- “नगरपालिकाको २ लाख पैसा त त्यतिकै गयो नि । नगरपालिकाको पैसाले कि त मञ्च बन्नु पथ्र्यो, कि कलाकारको पारिश्रमिकमा जानु पथ्र्यो या गाउँगाउँबाट झाँकी लिएर आउनेहरुलाई पुरस्कृत  गरिनु पथ्र्यो तर केही नगरी हाम्रो पैसा उद्योग बाणिज्य संघको खातामा गयो ।”

कार्यक्रममा मेयर अर्यालले कतिपय ठाउँमा दिइएको सहयोगको दुरुपयोग गरिएको तर अत्यावश्यक र नदिइ नहुने ठाउँमा सहयोग गर्न नपाएकोमा दुःख समेत ब्यक्त गरे । उनले नगरपालिकाको आन्तरिक आम्दानी खासै नभएकोले मन खोलेर कतै सहयोग गर्न नपाएको पनि बताए । उनले नगरपालिकाले काम गरेन भन्ने गुनासाे सुनिने गरेकाे भन्दै नगरपालिकाले खर्च गर्न पाउने २३ कराेड बजेटमध्ये १४ कराेड कर्मचारीकाे तलबमा सकिने, ७ कराेड २५ लाख रूपैयाँ वडाका लागि बजेट जाने स्पष्ट पारे ।

मेयर अर्यालले बेसीशहर नगरपालिकाको वडा नंं ८ मा चैत ५ गते आयोजित निःशुल्क महिला स्वास्थ्य एवं पाठेघर परीक्षण  शिविरको उद्घाटनका क्रममा यी कुरा बताएका हुन् ।

प्रतिक्रिया