लमजुङमा जिल्ला विपद् सहायता कक्ष गठन, यस्ताे छ कार्यादेश

खबरकुञ्ज

बेसीशहर, असार ११ गते । लमजुङमा जिल्ला विपद् सहायता कक्ष गठन गरिएको छ । विपद्का बेला भैपरि आउने समस्या न्यूनिकरण र विपद्मा परेकाहरुलाई आवश्यक सहायता गर्नका लागि जिल्ला प्रशासन कार्यालयले सहायता कक्ष गठन गरेको हो ।

सहायता कक्षमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकणर्राज सुयलको नेतृत्वमा टीम बनाइएको छ । 

उक्त सहायता कक्षमा नेपाली सेना सहसेनानी निर्मल वि.क, नेपाल प्रहरीका प्रहरी निरीक्षक टुलबहादुर श्रेष्ठ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्का, राष्ट्रिय अनुसन्धान वरीष्ठ अनुसन्धान सहायक विष्णु अधिकारी, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दिपक बम्जन, नेपाल रेडक्रस सोसाइटीका सभापति ऋषिराम घिमिरे, नेपापल पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारी, लमजुङ उद्योग बाणिज्य संघका महासचिव विपिन श्रेष्ठ, ग्रामीण सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक हेमराज बिमली र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका स.प्र.ह. प्रताप वि.कलाई पदाधिकारी तोकिएको छ ।

सहायता कक्षका लागि विपदको समयमा प्रतिकार्यका लागि प्राथमिकतामा राख्नुपर्ने महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति, अशक्त, बालबालिका, दीर्घरोगी लगायत जोखिमयुक्त समूह पहिचान तथा जोखिमको आँकलन गर्ने गराउने कार्यादेश तोकिएको छ ।

त्यस्तै किशोर किशोरी, सुत्केरी र गर्भवती महिलाको स्वास्थ्य र सामाजिक संरक्षणमा ध्यान दिन र लैंगिक हिंसा विरुद्ध संकटापन्न समूहका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गराउने र स्वास्थ्य सेवालाई प्रभावकारी रुपले सञ्चालनका लागि सहयोग गर्ने कार्यदेश पनि दिइएको छ ।

विपद्का घटना तथा क्षतिको विवरण संकलन, विश्लेषण र सूचना प्रवाह गर्दा लैंगिक तथा समावेशी दृष्टिकोणले खण्डिकृत गर्ने, खोज उद्धार गर्दा पहिचान गरिएका जोखिमयुक्त समूहलाई प्राथमिकतामा राख्ने ब्यवस्था मिलाउने, जिल्लास्थित विकास साझेदार तथा गैरसरकारी संस्थासंग समन्वय गर्ने र सहायता कक्षमा मोबाइल नम्बर सहितको सम्पर्क ब्यक्ति तोकी सार्वजनिक गर्ने कार्यादेश दिइएको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया