भुकम्प प्रभावित क्षेत्रमा उद्धार तथा स्वास्थ्यकर्मीकाे टाेली जाँदै, प्रधानमन्त्री दाहाल जाजरकाेटमा

काठमाडौं । गएरातीकाे भुकम्पले घाइते भएका जाजरकाेट र रूकुमका जनताकाे उपचारका लागि काठमाडाैंबाट डाक्टर तथा स्वास्थ्यकर्मीहरूकाे एउटा टाेली त्यसतर्फ उडेकाे छ ।

नेपाली सेनाकाे स्काइ ट्रक हेलिकाेप्टरमार्फत वीर अस्पताल र सशस्त्र प्रहरी अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको हाे । सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोलीलाइ नेपाली सेनाको स्काई ट्रकमार्फत भुकम्प प्रभावित स्थलमा पठाइएकाे सशस्त्र प्रहरी बल नेपालले बताएकाे छ ।

उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर उडिसकेका छन् । नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रतर्फ जान लागेकाे छ ।

यसैगरी सुर्खेत र दाङबाट पनि विपद् उद्दारका लागि उद्दार र राहतका लागि टाेली प्रभावित स्थलमा पठाइएकाे छ । चितवनकाे कुरिनटार र काठमाडाैंकाे सिनामंगलमा पनि सशस्त्र प्रहरीकाे स्वास्थ्य तथा विपद् उद्धार टाेली तयारी अवस्थामा राखिएकाे छ । सशस्त्रकाे महेश्वरी बाहिनी सुर्खेतबाट खोज तथा उद्दारका लागि टोली जाजरकोटमा खटिएको छ । 

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, सेनाको टोली पनि गएरातिदेखि नै खोज तथा उद्दारमा खटिएको छ । थप उद्दार टोलीलाई पठाउन समेत ठाउँठाउँमा सेना तैनाथ राखिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले भुकम्प प्रभावित क्षेत्रमा उद्दार, राहत र उपचारका लागि  आवश्यक सबै काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री एवं जाजरकोटका सांसद शक्ति बस्नेत, रुकुम पश्चिमका सांसद जनार्दन शर्मा उपचार सामग्री र स्वास्थ्यकर्मीसहित प्रभावित क्षेत्र जारकोटमा पुगिसकेका छन् ।

प्रतिक्रिया