बेसीशहर । २०८० असार २० गते । बेसीशहर नगरपालिका वडा नं. ९ साम्दीका शान्तिबहादुर बस्नेत सदाझैं विहान सवेरै उठे । नित्यकर्म सकेर पशु वस्तुको स्याहारमा लागे । बिहान घाम झुल्केपछि खोरमा थुनेका बाख्रा बाहिर निकाले ।
खोरमा ७/८ वटा बाख्रा थिए । दुईवटा त ठूलै खसी थिए । खोरबाट सबै बाख्रा बाहिर निस्के तर एउटा खसी भने देखिएन । खोरमा विरामी पो पर्यो कि भनेर बस्नेतले खोरभित्र चिहाए, तर खोरमा खसी थिएन । यताउता खोजे कतै देखेनन् । “पक्कै कसैले चोरेर लग्यो ”, बस्नेतले मनमनै लख काटे- “कति दुःख गरेर पालेको, बिक्री गर्ने बेलामा चोरले लग्यो, गरिखान पनि नदिने भए ।”
चिन्तित हुँदै उनले घरमा खसी हराएको कुरा सुनाए । विक्री गर्दा १०/१२ हजार सहजै पाइने खसी हराएको कुराले परिवारका सदस्य पनि चिन्तित भए ।
गोविन्दको घरमा खसी हराएको गाउँभरी हल्ला चल्यो । हल्लै हल्लामा गाउँकै गोविन्द वि.कको खोरबाट अर्को खसी पनि हराएको कुरा आयो । गोविन्दको खसी त्यस्तै १२/१३ किलोको हुँदो हो । एकै रातमा एकै गाउँका दुई घरमा खसी चोरी भएपछि गाउँभरि हल्ला खल्ला हुने नै भयो ।
खसी चोरी भएको सूचना प्रहरीमा पुग्यो । जिल्ला प्रहरी कार्यालयले पनि हराएका खसी खोज्न प्रहरी टोली खटायो । शान्ति बहादुर खसी कतै भेटिन्छ कि भनेर खोज्न घरबाट निस्के । चण्डीडाँडाको स्कूलनेर हराएको खसी खोज्न निस्केका गोविन्द भेटिए । दुवै जना संगै खसी खोज्दै बेसीशहर झरे ।
हराएको खसी चोरले कता पो पुर्यायो, कहाँ खोज्ने भन्ने सल्लाह हुँदा दुवै जनाले खसीको मासु काट्ने पसलमा गएर बुझ्ने निधो गरे । गाउँघरमा कसैले खसी बेच्न लग्दैन, लगे बजारमा मासु काट्ने पसलमा लगेको हुन सक्ने आशंकमा उनीहरु बेसीशहरका खसीको मासु काट्ने पसलमा खोज्दै हिँडे ।
केही पसलमा खोजेपछि शान्तिबहादुर र गोविन्द बेसीशहरको शेरामा रहेको एउटा खसीको मासु काट्ने पसलमा पुगे । नभन्दै त्यहाँ खसी काट्न तयारी अवस्था रहेछ । खसी हराएर खोज्दै आएको कुरा उनीहरुले गरेपछि पसलेले खसी देखाए । नभन्दै पसलेले देखाएका दुईवटै खसी उनीहरुकै थिए । उनीहरुले प्रहरीलाई गुहारे । प्रहरी आइपुग्यो र खसी बरामद गर्यो ।
प्रहरी कार्यालयले खसी चोर खोज्न विभिन्न ठाउँमा प्रहरी खटायो । तर चोर भेटिएन । यस्तैमा असार २४ गते बिहान बेसीशहरको वडा नंं ७ स्थित सुकमाया भुजेलको खोरमा थुनिएका दुईवटा खसी फेरि हराए । अघिल्ला दुईवटा खसी चोर समातिएकै थिएन, फेरि अरु थप दुईवटा खसी हराएको सूचना प्रहरीलाई आएपछि प्रहरी दवावमा पर्यो ।
जिल्ला प्रहरी कार्यालयले खसी चोर पत्ता लगाउन विभिन्न ठाउँमा प्रहरी टोली परिचालन गर्यो । प्रहरी टोलीले खोजतलास गर्दै जाँदा सोही दिन बिहान बेसीशहरबाट डुम्रेतर्फ जाँदै गरएको एउटा बसको डिक्कीमा राखेर चोरी गरिएका ती खसीलाई विक्री गर्न डुम्रेतर्फ लैजाँदै गरेको अवस्थामा लमजुङको क्व्होंलासोंथार गाउँपालिकावडा नंं ३ घर भएका ३४ बर्षका कालु गुरुङलाई पक्राउ गर्यो र चोरी भएका खसीहरुसमेत बरामद गर्यो ।
पक्राउमा परेका कालु गुरुङ उपर सम्मानित लमजुङ जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा पहिलो पटक दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।
बरामद भएका खसीहरू सम्बन्धित किसानकाे जिम्मा लगाइएकाे छ । चाेरी भएका खसीकाे बजार मूल्य ५० हजार रहेकाे बताइएकाे छ ।