बेसीशहर, मंसिर २६ । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले नेपालको संविधान र ब्यवस्था जोगाउने दायित्व नेपाली प्रेसको रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ लमजुङ शाखाको १६ औं साधारणसभा तथा ८ औं अधिवेशनको बुधबार बेसीशहरमा उदघाट्न गर्दै मन्त्री डा गुरुङले अहिलेको राजनीतिक परिवर्तनको मुख्य बहाक र हिस्सेदार भएकाले पनि संविधान र लोकतन्त्र जोगाउने दायित्व नेपाली प्रेसमाथि भएको बताएका हुन् ।
अहिले ब्यवस्थाप्रति नै र संविधानमाथि नै प्रहार भइरहेको भन्दै उनले नागरिक र सरकारको सहयात्रीका रुपमा रहेको नेपाली प्रेस यसप्रति चनाखो बन्नुपर्ने उनले बताए ।
मन्त्री गुरुङले अहिले पनि सिंहदरबारको ढोका सर्वसाधारणका लागि बन्द रहेकाले प्रदेश र स्थानीय सरकार नै सही अर्थमा जनताको सरकार रहेको टिप्पणी गरे । संघीय सरकार भन्दा प्रदेश सरकार र स्थानीय जनताले जनताको सुख दुःखमा साथ रहेको भन्दै उनले संघीय सरकारले भने प्रदेश सरकार र स्थानीय सरकारलाई अन्याय गरेको आरोप लगाए ।
मन्त्री गुरुङले भने– “संघीय सरकारको बजेट प्रदेश सरकारको भन्दा साढे आठ गुणा ठूलो छ, संघीय सरकारका दुई मन्त्रालयको बजेट मात्रै पनि प्रदेश सरकारको भन्दा ठूलो छ । वित्तिय हस्तान्तरणमा प्रदेश सरकार र स्थानीय सरकारलाई संघीय सरकारले अन्याय गरेको छ ।”
कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारी, नेकपा एमाले लमजुङका सचिव राजेन्द्र बोहोरा, क्व्होलसोंथार गाउँपालिकाका प्रमुख सुर्यप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ लगायतले पत्रकारहरुले देखिएको मात्र नभइ नदेखिएका बिषयमा पनि कलम चलाउनु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यहरु नविनराज कुइँकेल र किसान संगीत नेपाली, पूर्व अध्यक्षहरु कृष्ण केसी, नवराज पहाडीलगायतले लमजुङमा पत्रकारिताको अबस्था र चुनौतिका बारेमा मन्तब्य राखेका थिए ।
अधिवेशनले अध्यक्ष अधिकारीले प्रस्तुत गरेको सांगठनिक तथा प्रगति प्रतिवेदन, सचिव रुद्र ढकालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
अधिवेशन अन्तर्गत बिहीबार मतदाता नामावली प्रकाशन, उमेदवारहरुको मनोनयन दर्ता र उमेदवार माथि दावी विरोध र मनोनयन फिर्ता लगायतका कार्यक्रम हुने छन् । मंसिर २८ गते निर्वाचन हुने छ ।
निर्वाचनका लागि केन्द्रदेखि जिल्ला तहसम्मै सत्ता गठबन्धनका दलहरुको संगठन नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको गठबन्धन बनेको छ । लमजुङमा प्रेस युनियनले नेतृत्व पाउने र सकेसम्म सर्बसम्मत गराउने बिषयमा पहल भइरहेको बताइन्छ ।
प्रेस युनियनबाट परमेश्वर अधिकारी र सन्देश पौडेल अध्यक्षको आकांक्षी छन् । त्यस्तै प्रेस चौतारीबाट हाल महासंघ जिल्ला शाखाको उपाध्यक्ष रहेका अनुज अधिकारी पनि अध्यक्षको आकांक्षी रहेका छन् ।
खबरकुञ्ज