सुन्दरबजार, माघ २९ । लमजुङको सुन्दबजारमा रहेको नमूना सामुदायिक अस्पतालमा आइतबारबाट फिजियोथेरापी सेवा शुरु भएको छ ।
सेवाग्राहीको सुविधाका लागि अस्पतालको सेवा विस्तार गर्ने क्रममा फिजियोथेरापी सेवा शुरु गरिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । नमूना अस्पताल सुन्दरबजारको ब्यवस्थापन लिएर अस्पताललाई नाम जस्तै नमूना बनाउने प्रयासमा रहेको एचडिसिएसले छोटो अवधिमा सेवाग्राहीको मन जित्दै आएको छ । अस्पतालमा अझै थप सेवा उपलब्ध गराई लमजुङ र तनहूँका जनताको सेवा गर्न अस्पताल तत्पर रहेको अस्पताल प्रमुख श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार फिजियोथेरापी मेसिनको सहायताले वा शारीरिक कसरतबाट रोग निदान गर्ने तथा पीडा कम गर्न सघाउने उपचार पद्धति हो । एलोप्याथिक उपचार पद्धति अन्तर्गत यो विधि धेरै किसिमका रोगको उपचारका लागि प्रयोग गरिन्छ । यो विधिले उपचार गर्दा हिँड्न नसक्नेलाई हिँड्न सक्ने बनाउनुका साथै हाडजोर्नीको समस्याको शल्यक्रिया पछि ती अंगहरूको सञ्चालन क्षमता फर्काउन सहयोग पुर्याउँछ ।
फिजियोथेरापीलाई औषधि विज्ञानको महत्वपूणर् भागको रुपमा हेरिन्छ । जुनसुकै उमेर समूहका व्यक्तिका लागि पनि महत्वपूणर् उपचार पद्धति मानिएको फिजियोथेरापी पद्धतिमा औषधिको प्रयोगभन्दा बढी शरीरका जोर्नीहरू, चिसो-तातोको प्रयोग, मांसपेशीका तन्तुलाई चलाएर उपचार गरिने श्रेष्ठले जानकारी दिए ।

चिकित्सकहरुका अनुसार फिजियोथेरापीको मुख्य कामे मानिसका अंगहरुलाई सक्रिय र क्रियाशील बनाउनु हो । रोग लागेपछि रोगीको पछिल्लो अवस्थामा सुधार ल्याई पहिलेकै जीवनशैली वा अवस्थामा ल्याउन फिजियोथेरापीले मद्दत गर्छ । औषधिको प्रयोगविना विभिन्न तरिकाबाट गरिने थेरापीले बिरामीलाई स्वस्थ बनाउन मद्दत गर्दछ ।
फिजियोथेरापीमा रोग पत्ता लगाएर आवश्यक व्यायाम, मालिस आदि विधिद्वारा उपचार गराउन सकिन्छ । फिजियोथेरापी गरेर अन्तिममा चिकित्सककहाँ उपचारका लागि जानु आवश्यक हुन्छ, तर नेपालमा भने सम्बन्धित रोगको चिकित्सकले रिफर गरेर मात्रै फिजियोथेरापी गर्ने चलन छ । फिजियोथेरापीले रोगसँग लड्न सक्ने शक्ति बढाउनुका साथै विभिन्न सरुवा रोगबाट पनि बचाउने र नसर्ने रोग र दीर्घरोग लागेका बिरामीलाई पनि फिजियोथेरापीले सहयोग पुर्याउने गर्दछ ।

नमूना सामुदायिक अस्पतालले सेवा विस्तारको क्रममा बिशेषज्ञ सेवालाई जोड दिएको छ । अहिले उक्त अस्पतालमा स्त्री रोग विशेषज्ञ, एमडिजीपी डाक्टर, मृगौला रोग विशेषज्ञ, दन्त चिकित्सक उपलब्ध छन् । साना ठूला शल्यक्रिया हुन थालेका छन् । एपेन्डेक्टोमी, हर्निया र हाइड्रोसिल जस्ता रोगको अहिले नमूना अस्पतालमै शल्यक्रिया हुने गरेको अस्पताल प्रमुख श्रेष्ठले जानकारी दिए । यस बाहेक प्राकृतिक रुपमले सुत्केरी हुन नसक्ने महिलाहरुका लागि समेत शल्यक्रिया गरी प्रसुति गराउने काम भइरहेको उनले बताए ।
अहिले नमूना अस्पतालले दन्त सेवा, प्रयोगशाला सेवा, भिडियो एक्सरे, एक्सरे, मनोविमर्श, फर्मेसी, प्यालेटिभ केयर, लगायतका सेवा दिइरहेको छ । समुदाय स्वास्थ्य सचेतना, निःशुल्क स्वास्थ्य शिविर, आमा समूह, बाबा समूहमा सचेतना, विद्यालय स्वास्थ्य कार्यक्रम, इमर्जेन्सी मेडिसिन सेवा उपलब्ध छ ।
यसबाहेक अस्पतालले गरिबहरुका लागि शल्यक्रिया र औषधी समेत निःशुल्क उपलब्ध गराइरहेको अस्पताल प्रमुखले जानकारी दिए । विरामीको आर्थिक अवस्थ हेरेर अस्पतालको सामाजिक सेवा विभागले यो सेवा उपलब्ध गराउने उनले बताए ।