बेसीशहर । राेजगारीकाे अवसर खाेज्दै लाखाैं युवाहरू विदेशिने क्रम बढिरहेकाे बेला लमजुङमा उद्योग ब्यवसायमा स्थानीय सहभागिता जुटाइ आर्थिक उन्नति र राेजगारी समेत सृजना गर्ने उद्देश्यले लगानी समूह गठन गर्न लागिएकाे छ ।
लमजुङकाे मर्स्याङदी गाउँपालिकामा मर्स्याङदी ग्रुप नामक लगानी समूह गठन गर्न लागिएकाे हाे। जलश्राेत, कृषि, जडिबुटी र पर्यटनकाे अथाह सम्भावना बाेकेकाे मर्स्याङदी गाउँपालिकाभित्र ती क्षेत्रमा लगानी गरी स्थानीयकाे आय आर्जनमा बृद्धि गर्ने र युवाहरूलाइ गाउँमै उचित राेजगारी सिर्जन गर्न मर्स्याङदी ग्रुप नामक लगानी समूहकाे अवधारणामा छलफल शुरू गरिएकाे हाे ।
मर्स्याङदी गाउँपालिकाले याे अभियानकाे नेतृत्व लिएकाे छ । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ स्वयंले यसकाे अबधारणा ल्याएका हुन् । यसले मूर्त रूप लिएमा यसले लमजुङकाे मर्स्याङ्दी गाउँपालिकालाइ मात्रै नभइ सिंगाे जिल्लालाइ नै समृद्ध बनाउन भूमिका खेल्ने विश्वास लिइएकाे छ ।
यस सम्बन्धमा गाउँपालिकाकाे केन्द्र भुलभुलेमा केही दिन अघि बृहत भेला बाेलाइएकाे थियाे । भेलामा अध्यक्ष गुरूङले मर्स्याङदी ग्रुपकाे अबधारणाबारे प्रकास पार्दै ग्रुपले मर्स्याङदी गाउँपालिकाभित्रका नागरिकबाट रकम संकलन गरी बास्केट फण्ड बनाउने र जलविद्युत, कृषि, पर्यटन, जडिबुटीकाे क्षेत्रमा लगानी गरिने जानकारी गराए । उनले मर्स्याङदी गाउँपाालिकामा सम्भावना भएका सबै क्षेत्रमा लगानी गरी गुन्द्रुक र विभिन्न प्रकारका अचार देखि जलविद्युत अायाेजना निर्माण गर्ने सम्मका कुरा मर्स्याङदी ग्रुपबाट गर्न सकिने बताए । उनले क्रसर उद्याेग र पेट्राेल पम्पसम्मकाे अबधारणा अघि सारे ।
भिडियाे हेर्नुहाेस् ।
भेलाले गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा मर्स्याङदी ग्रुपकाे तदर्थ संयाेजन समिति गठन गरेकाे छ ।
समितिमा कृष्ण विक, प्रेमबहादुर बस्नेत, मेघराज तामाङ, टिकाराम भण्डारी, महेन्द्र थापा, घनश्याम घले, विनोद गुरुङ, युवा घले, अजय तामाङ, नन्दराज तामाङर विकास घिमिरे सदस्य रहेका छन् ।
लगानीका लागि आवश्यकता अनुसार कम्पनी दर्ता गर्न, सञ्चालक समितिहरु गठन गर्न र आवश्यक प्रकृयाहरु पूरा गर्नका लागि याे तदर्थ समितिले समन्वयकारी भूमिका निर्वाह गर्ने छ ।
भेलाले लगानी समूहमा सहभागी हुन १ हप्ताकाे समयभित्र जानकारी गराउन स्थानीयलाइ भनेकाे छ । तत्काल काम अगाडी बढाउन लगानी समूहमा सहभागि हुने सदस्यहरुले २५ हजार रुपैया जम्मा गर्ने निर्णय भएको छ । लगानी समूहमा न्यूनतम २ लाखदेखि ५० लाखसम्मको लगानीकाे खाका बनाउन लागिएकाे र लगानीकर्ताले फरक फरक उद्योग ब्यवसायमा पनि लगानी गर्न पाउने वातावरण बनाइने बताइएकाे छ ।