रवि लामिछानेलाई पक्राउ गर्न अदालतकाे अनुमति, पक्राउ गर्न सिआइबीको टोली खटियाे, घण्टीघरमा तनाव

खबरकुञ्ज

काठमाडौं, कार्तिक २ गते । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति माग गरेकोमा कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको ईजलाशले यस्तो अनुमति दिएको हो । उनलाई सहकारी ठगीसंगै संगठित अपराध मुद्दामा पक्राउ पूर्जी जारी गरिएको छ ।

अदालतले अनुमति दिए लगत्तै लामिछानेलाई पक्राउ गर्न सिआइबीको टोली खटिइसकेको छ । उनलाईकाठमाडौंबाट पक्राउ गरी पोखरा ल्याउने तयारी छ ।

लामिछानेलाई पक्राउ गर्ने खबर फैलिएपछि रास्वपाको केन्द्रीय कार्यालयमा कार्यकर्ताहरुको भीड जम्मा भएको छ । रास्वपाकाे केन्द्रीय कार्यालय घण्टीघरमा यतिबेला तनाबकाे वातावरण छ।

यसैबीच रास्वपा सभापति लामिछानेले आफू कानुनलाई सघाउन तयार रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई न्यायलय र जनताप्रति पूर्ण भरोसा रहेको बताएका छन् ।

लामिछानेमाथि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लगायत विभिन्न सहकारीबाट करोडौं ठगी गरेको आरोप लाग्दै आएको छ । यस्तो आरोपकाबीच उनीमाथि कास्की जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत परेको थियो । 

लामिछानेले भने आफूमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको  बताउँदै आएका छन् ।

गत जेठ १५ गते सांसद सुर्य थापाको अध्यक्षतामा गठन भएको सहकारी सम्बन्धी छानबीन समितिले तीन महिना लगाएर बुझाएको अध्ययन प्रतिवेदनमा रवि लामिछाने सहकारी ठगीमा प्रत्यक्ष संलग्न नरहेको पाइयो । प्रतिवेदनमा लामिछाने कुनै पनि सहकारीको सदस्य नरहेको, ऋण नलिएको उल्लेख छ । तर सहकारीको रकम उनी कार्यरत गोर्खा मिडिया नेटवर्कमा गएको र उक्त रकम खर्च गर्ने काममा उनी संलग्न रहेको पाइएको भन्दै उनी विरुद्ध कानुन बमोजिम कारबाही गर्न समितिले सिफारिस गरेको थियो ।

प्रतिवेदनको पक्ष बिपक्षमा अहिले पनि सामाजिक सञ्जाल तातिरहेको छ । 


प्रतिक्रिया