११ दिनदेखि बेपत्ता रहेका हरिराम रिमाल मृत अवस्थामा भेटिए

बेसीशहर, जेठ ७ गते । गत बैशाख २८ गतेदेखि बेपत्ता रहेका बेसीशहर नगरपालिकाको वडा न ६, तल्लो मकैडाडा निवासी २० बर्षका हरिराम रिमाल ११ दिनपछि मृत अवस्थामा फेला परेका छन् ।

उनलाई सोमबार दिउसो मस्र्याङदी नदी किनारमा मृत अवस्थामा फेला पारिएको हो । मर्स्याङदी गाउँपालिकाको वडा नं. ८ मा पर्ने बडागाँउमा साथीको घरमा जान्छु भनि बैशाख २८ गते शुक्रबार राती १० बजे घरबाट निस्केका उनको शब सोमबार दिउसो साढे ३ बजे बेसीशहर ६ मा पर्ने बेलौति विसौना खोला र मर्स्याङदीको दोभाननेर बीच नदीमा भेटिएको हो । 

नदीको बीच बगरमा मृत ब्यक्तिको शब देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर थाह पाउनासाथ प्रहरीले सशस्त्र प्रहरीको सहयोगमा डुंगाको मद्दतले नदीको बीचबाट शबलाई बाहिर निकालेको थियो । घटनस्थलको मुचुल्का गरी प्रहरीले उनको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए । उनले घटनाको अनुसन्धान शुरु भएको र पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप भन्न सकिने बताए ।

बैशाख २८ गते उनी बडागाउँमा प्रेमिकालाई भेट्न भनि गाउँकै एकजना साथी दिनेश रिमालसंग बेलौति बिसौनाको झोलुंगे पुलसम्म पुगेका खुलेकाे छ । उनी साथीलाई त्यहाँबाट फर्काए पछि एकाएक बेपत्ता भएका थिए । घरबाट हिँडेपछि कसैको पनि सम्पर्कमा नआएका उनको खोजीका लागि परिवारले सम्भावित सबै ठाउँमा खोजि गरेकोमा भेटिएका थिएनन् । नभेटिएपछि खोजी कार्यका लागि उनीहरुले प्रहरीमा समेत निवेदन दिएका थिए ।

स्थानीयले भने रिमाललाई कसैले अपहरण गरेर एकदुई दिन अघि हत्या गरेको हुन सक्ने शंका गरेका छन् । उनीहरुले हराएको ११ दिनपछि शब भेटिनु र उनको शव अनुहारको एकातिर डढेको जस्तो देखिएको र टाउकोमा समेत चोटपटक देखिएकाले हत्या भएको हुन सक्ने तर्फ बल पुगेको भन्दै गम्भीर भएर अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरेका छन् ।

घरबाट हिँडेको भोलिपल्ट बिहान बितिसक्दा पनी हरिराम घरमा नआएपछि परिवारले उनको खोजी कार्य सुरु गरेको थियो । त्यसपछि परिवारले बडागाउँमा गएर पटक पटक खोजी गरे पनि उनी फेला पर्न सकेनन् । उनले बडागाउँमा कुन साथीकोमा गएको हो सो कुरा समेत नखुलाएकोले खोजीमा समस्या परेको थियो । तै पनि परिवारले सम्भावित सबै ठाउँमा खोजी गरेका थिए । कतै पनि नभेटिएपछि गहिरो चिन्तामा परेको रिमाल परिवार शब भेटिएपछि विक्षिप्त भएको छ ।

प्रतिक्रिया