लमजुङ कांग्रेसकाे भवन कूलाे मिचेर निर्माण भएकाे गुनासाे, मापदण्ड छाेडेर बनाएकाे कांग्रेसकाे दावी

बेसीशहर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले लमजुङ सदरमुकाम बेसीशहरमा निर्माण कार्य थालेकाे पार्टी कार्यालय भवन सार्वजनिक कूलाेमाथि पर्ने र भवन पनि सम्बन्धित निकायबाट इजाजत नलिइ बन्दै गरेकाे आराेप लागेकाे छ ।

लमजुङको बेसीशहर नगरपालिका वडा नं. ८ दनाईफाँटमा अर्थली प्याराडाइज बोर्डिङको नजिकै कित्ता नं. ६४७५, २१२६, ३२१०, ४८७७ र ४८७८ को ११ आना जग्गामा नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङले विपी स्मृति भवनको नाममा पार्टी कार्यालय निर्माण गरिरहेको छ ।

हाल यो भवनको पहिलो तलाको ढलान भइ दोस्रो तला ढलानको तयारी भइरहेको छ । तर अहिलेसम्म नेपाली कांग्रेस लमजुङले बेसीशहर नगरपालिकाबाट भवन निर्माणको स्वीकृति र नक्सापास गराएकाे छैन ।  जहाँनेर भवन बनिरहेकाे छ, त्यहाँ दुइवटा सार्वजनिक कूलाे रहेका र कूलाेकाे साँध सिमाना मिचेर भबन बनिरहेकाे गुनासाे स्थानीयले गरेका छन् ।

कानुनतः नगर क्षेत्रमा ब्यक्ति, सार्वजनिक संस्था, वा सरकारी निकायले पनि स्थायी वा अस्थायी घर वा टहरा बनाउँदा सम्बन्धित स्थानीय निकायबाट स्वीकृति लिनुपर्छ । भवनको नक्सा पास गराएर प्राविधिकले जग्गाकाे नापजाँच गरी सार्वजनिक सडक, कूलाे, नहर, मठ मन्दिरकाे मापदण्ड छाेडेर मात्र भवन निर्माण शुरू गर्नुपर्नेमा उक्त भवनको नक्सा पास नभएको बेसीशहर नगरपालिकाकाे प्राविधिक शाखाले जानकारी दिएकाे छ ।

स्थानीयका अनुसार नेपाली कांग्रेसले पार्टी कार्यालय बनाइरहेको ठाउँमा दुईवटा सार्वजनिक कुलो पर्छन् । बेसीशहरको दनाईफाँटमा सिञ्चाइ गर्न परापूर्वकालदेखि चलनमा रहेका र नापी नक्सामा समेत स्पष्ट देखिने सिरान कूलाे र माझ कूलाेमा पर्ने गरी कांग्रेसको पार्टी कार्यालय बनिरहँदा र नक्सापास बिना धमाधम भवन बनिरहँदासमेत नगरपालिका माैन बसिरहेको स्थानीयले गुनासाे गरे ।

कुनै समय लमजुङकै उर्वरफाँट मानिएको दनाईफाँटमा अहिले तीब्र शहरीकरण भइरहेको छ । खेतीयोग्य फाँटका खेतका गरा मासेर घडेरी बनाउने र ती घडेरीमा घर बनाइँदा फाँट विस्तारै कंक्रिटको जंगल बन्ने क्रममा छ । खेती गर्नेहरु घट्दै गएकाले र लामो समयदेखि कूलो प्रयोगमा नहुँदा कूलो अतिक्रमणमा परेको स्थानीयले बताए । 

जानकारहरुका अनुसार दुइवटा कूलो एकै ठाउँमा छन् । भिरालाे जग्गा भए पनि दुइवटा कूलाेबीच तीन चार मिटर दुरीकाे फरक छ । नेपाली कांग्रेस लमजुङले बनाइरहेकाे भवन सिरान कूलाेमा पर्ने र माझ कूलाे प्रयाेगमा नहाेस्, तर कूलाे माथि  भवन बनाउनु ठीक नभएकाे उनीहरूले बताए । 

स्थानीयले भने बजेटको अभावले कूलो मर्मत सम्भार गर्न नसक्दा प्रयोगमा ल्याउन नसकिएको र प्रयाेगमा नरहेकाे कारण कूलाे अतिक्रमण भएकाे बताए । अहिले निर्माणाधीन नेपाली कांग्रेसकाे भवन नजिकै दुइवटा घरले पनि कूलाेकाे जग्गामा अतिक्रमण गरेका उनीहरूकाे भनाइ छ । स्थानीय किसान कल्पना दनाईले भनिन्–“कुलो नचल्दा आकासे पानीकै भरमा खेत रोप्नुपर्छ, पानी राम्राे नपरेर कतिले अझै खेत राेपेका छैनन् । सिरान कूलाेकाे मुहानमा अतिक्रमण भइ बजार बसिसकेकाे छ। केही ठाउँ छाेडेर मुहानदेखि पुछारसम्मै सिरान कूलाेकाे अस्तित्व नै मेटिएकाे र माझ कूलाे पनि अतिक्रमण शुरू भएकाे छ ।  खेतीपाती गर्नेहरु घट्दै गएकाले पनि कूलोको संरक्षणमा कसैले चासो नदिँदा सार्वजनिक जग्गा अतिक्रमण भएकाे हाे ।” 

स्थानीय भन्छन्–“ नगरपालिकाले सार्वजनिक जग्गाकाे संरक्षण गरेन । सार्वजनिक जग्गाकाे संरक्षण गर्ने दायित्व नगरपालिकाकाे भए पनि नगरपालिका यसमा उदासिन बन्याे । ”

सार्वजनिक कूलाेमाथि भबन बनेकाे बिषयमा हामीले नेपाली कांग्रेस लमजुङका सभापित डा. टकराज गुरूङसंग के भएकाे हाे भनि साेधेका थियाैं । डा. गुरूङले भवनकाे नक्सापासकाे काम प्रक्रियामा रहेकाे र भवन बनाउँदा कुनै सार्वजनिक स्थलकाे अतिक्रमण नभएकाे दावी गरे ।

उनले भने– "हामीले पार्टी कार्यालय बनाएकाे हाे, नीजि घर बनाएकाे हैन, कांग्रेसले कसैकाे जग्गा अतिक्रमण गर्दैन, याे जनताकाे पार्टी हाे । हाम्राे लालपूर्जामा भएकाे ११ नामध्ये पनि करिब ४ ना जग्गामा मात्र भवन बनेकाे छ । १ ना जग्गामा ३४२.२५ स्क्वायर फुट हुनेमा ११ ना जग्गाकाे ३७ सय स्क्वायर फुटमा भवन बन्नु पर्ने थियाे तर मुस्किलले १३०० स्क्वायर फिटमा भवन बनेकाे छ । जसले याे राेप लगाएकाे छ, हामी उनीहरूसंग बसरे कुरा गर्न र पार्टीकाे जग्गा पुनः नाप नक्सा गर्न तयार छाैं ।"

सभापति गुरूङले भवनकाे जग्गाकाे चारै घेरामा यस अघि नै संरचना बनिसकेकाले पार्टीले कसैकाे जग्गा अतिक्रमण गर्ने प्रश्नै नहुने बताए । पार्टीकाे नाममा रहेकाे ११ ना जग्गा नै नपुगेकाे भन्दै उनले भने– "अब हाम्राे जग्गा पुगेन भने कसले पुर्याइदिन्छ ?" 

उनले थपे– "हामीले जग्गा किन्दा कूलाे चलनमा थिएन, जग्गाधनीले देखाएकाे जग्गामा नापजाँच गरेर किनेकाे हाे, त्यतिबेला कूलाे अहिले बनेकाे सडकमा पर्ने भनिएकाे थियाे । हामीले सडक भन्दा तीन मिटर छाेडेर भवन बनाएका छाैं । यदि भवन बनेकाे ठाउँमा, कुलाे परेकाे रहेछ भने पनि हामी सिञ्चाइ कूला चलाउने ग्यारेन्टी गर्छाैं । भवनकाे अगाडी, पछाडि जताबाट पनि कूलाे बनाउन दिने मात्र हाेइन, नेपाली कांग्रेस पार्टीले नै बनाइदिन्छ । "

सभापति गुरूङले त्यहाँ कूलाेकाे अावश्यकता छ भने कूलाे मर्मत वा निर्माणका लागि बजेटकाे ब्यवस्था गरिदिने समेत प्रतिबद्धता जनाए । उनले भने– "कृपया यसलाइ अतिरञ्जित नगरिदिनुहाेला, कांग्रेस गरिब, किसान, मजदुरकाे पार्टी हाे, कांग्रेसलाइ किसानकाे बिराेधी र कूलाे मास्ने पार्टी भन्ने भ्रम नफैलियाेस् ।"


प्रतिक्रिया