गण्डकी प्रदेश सरकारकाे मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारी नियुक्त

बेसीशहर, चैत २९ गते । नेकपा एमाले लमजुङका नेता कृष्णप्रसाद अधिकारी गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले उनलाई बिहीबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् । मुख्य न्याधिवक्ता प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकार मानिन्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी मुख्यमन्त्री भएकामा सर्वोच्च अदालतमा मुद्दा परेको छ । आफ्नै विरुद्ध परेको मुद्दा लड्नसमेत वकीलको आवश्यकता परेका बेला मुख्यमन्त्री अधिकारीले न्यायाधिवक्ताको रुपमा कृष्णप्रसाद अधिकारीलाई नियुक्त गरेका हुन् ।

उनलाई आजै साँझसम्म पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम तय भएको छ ।

नवनियुक्त मुख्य न्याधिवक्ता अधिकारी नेकपा एमाले जिल्ला कमिटी लमजुङका निवर्तमान अध्यक्ष हुन् । गत चैत १६–१९ सम्म बेसीशहरमा चलेको जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका उनी राजकुमार विष्टसंग पराजित भएका थिए ।

गण्डकी प्रदेशमा रहेका एमालेका दुई गुट (पृथ्वीसुब्बा र खगराज)मध्ये खगराज समूहमा रहेका अधिकारीलाई पुनः जिल्ला अध्यक्ष हुन नदिन पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ठूलै कसरत गरेका थिए । स्थायी समितिका सदस्य खगराज अधिकारीले गएको पार्टीको निर्वाचनमा उनलाई जिताउन त सकेनन् तर आफै नेतृत्वको प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त गरी अधिकारीलाई गुन लगाएका छन् ।

अधिवक्ता अधिकारी विगत दुई दशकदेखि लमजुङमा वकालत पेशामा छन् । उनी पटक पटक लमजुङ बार ईकाइको अध्यक्ष समेत भइसकेका ब्यक्ति हुन् ।


प्रतिक्रिया