पत्रकार महासंघ लमजुङकाे अध्यक्षमा उमेदवारी दिएका अनुज अधिकारीलाई खोज्दै प्रहरी

खबरकुञ्ज

बेसीशहर, मंसिर २७ गते । नेपाल पत्रकार महासंघ लमजुङको ८ औं अधिवेशनमा अध्यक्षमा उमेदवारी दिएका अनुज अधिकारी उमेदवारी दिनासाथ सम्पर्कमा नरहेपछि उनलाई खोज्न प्रहरी नै परिचालन भएको छ ।

अधिवेशनमा नेपाली कांग्रेस र नेकपा एमाले निकटका पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उमेदवारको रुपमा अध्यक्ष पदमा युनियनका सन्देश पौडेल उमेदवार छन् । गठबन्धनको विरुद्ध प्रेस चौतारीबाटै विद्रोह गरी अध्यक्षमा मनोनयन दर्ता गराएका अनुज अधिकारीलाई उमेदवारी फिर्ता लिन चौतर्फी दवाव बढेपछि उनी मोबाइल स्वीच अफ गरी गुमनाम भएका छन् । उनी गुमनाम भएपछि गठबन्धनका नेताहरुको आग्रहमा उनको खोजीका लागि प्रहरी खटिएको हो ।

अधिकारीले भने– “मेरो त ब्यापक खोजी भएको रहेछ । उमेदवारी फिर्ता लिन निकै दबाब आएपछि दबाब खेप्न मोबाइल स्वीच गरेको थिएँ, प्रहरी लगाएर खोज्न लगाएछन् । प्रहरी मेरो कोठामै पुगेको सूचना पाएको छु ।” अधिकारीले आफूलाई उमेदवारी फिर्ता लिन बाध्य गराउन प्रहरी परिचालन गरिएको आशंका गरेका छन् ।

उनलाई उमेदवारी फिर्ता लिन नेकपा एमालेका नेताहरु पनि लागि परेका थिए । यसबाहेक प्रेस युनियन र प्रेस चौतारी नेपालले पनि उनलाई उमेदवारी फिर्ता लिन दबाब दिएका छन् । केन्द्र देखि प्रदेश सकारसम्म गठबन्धनमा रहेका यी यी दुवै दल र यी सम्बद्ध पत्रकार संगठनले पत्रकार महासंघको महाधिवेशनका लागि पनि केन्द्र, प्रदेश र जिल्लासम्मै गठबन्धन गरी साझा उमेदवार बनाएका छन् । 

हाल लमजुङ शाखाको उपाध्यक्ष रहेका अधिकारी तीन बर्ष अघिबाटै अध्यक्ष पदमा निर्वाचन लड्ने तयारीमा जुटेका थिए । दुई संगठनबीचको गठबन्धनले उनलाई रोक्न खोजेपछि उनले संगठनबाट विद्रोह गरी उमेदवारी दिएका हुन् ।

अध्यक्ष पदका उमेदवार अधिकारी मनोनयन दर्ता गरी मोबाइल स्वीच अफ गरी बसेपछि गठबन्धनबाट उनको खोजी भइरहेको छ । यसबाहेक नेकपा एमालेका नेता कार्यकर्ता पनि उनलाई खोजी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी निशान्त श्रीवास्तबले अधिकारीको मोबाइल स्वीच अफ भएकाले उनको बारेमा साथीहरुले सोधखोज गरेपछि उहाँको खोजी गरिएको स्वीकार गरे । तर नाम भने उनले बताउन चाहेनन् । “तपाइँ जस्तै साथीहरुले भन्नुभएको हो” उनले भने ।

यता उमेदवार अधिकारीलाई बाध्य बनाएर उमेदवारी फिर्ता गर्न लगाउन मनोनयन फिर्ता लिने समय बढाइएको छ । प्राप्त जानकारी अनुसार यो समय शुक्रबार बिहान १०.३० बजेसम्मलाई सारिएको छ । जबकी पत्रकार महासंघका देशैभरीका जिल्ला, प्रदेश र प्रतिष्ठान शाखामा शुक्रबार बिहान ८ बजेदेखि मतदान गर्ने समय तोकिएको छ । लमजुङमा भने अधिकारीलाई तह लगाउन उमेदवारी फिर्ता लिने समय बढएइको प्रष्ट हुन्छ । उनकाे उमेदवारी गठबन्धनको टाउकाे दुखाइकाे बिषय बनेकाे छ । 

पत्रकार महासंघमा देखिएका बिकृति विसंगतिको अन्त्य र "सिजनको होइन भिजनको नेतृत्व" को नारा लिएर अध्यक्ष पदमा उमेदवारी दिएका अधिकारीलाई बाध्य बनाएर उमेदवारी फिर्ता गर्न लगाउन मनोनयन फिर्ता लिने समय बढाइएको चर्चा चलेको छ । पत्रकार महासंघका देशैभरीका जिल्लामा शुक्रबार बिहान ८ बजेदेखि मतदान गर्ने समय तोकिएकोमा लमजुङमा भने अधिकारीलाई तह लगाउनकैलागि उमेदवारी फिर्ता लिने समय बढएइकोमा गठबन्धनको आलोचना भइरहेको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रकाशन गरेको मतदाता नामावली अनुसार लमजुङमा ३४ जना सदस्य छन् । लमजुङमा प्रेस चौतारीका १४ जना (एकजना विदेशमा), प्रेस युनियनका १३ जना र प्रेस सेन्टरका ४ जना सदस्य छन् । अन्य दुई जना सदस्य स्वतन्त्र र एक जना रास्वपाको निकटका छन् । अध्यक्ष पदान निर्वाचित हुन १७ मतको आवश्यकता पर्छ । गठबन्धनका उमेदवार पौडेललाई प्रेस युनियनको साथ छ । उनलाई चौतारीका ४ जना मात्रै मत दिए पुग्छ । यद्यपी प्रेस चौतारी अहिलेसम्म गठबन्धनमा प्रतिबद्ध रहेको यसका नेताहरुले बताएका छन् ।

स्वतन्त्र रुपमा उमेदवारी दिएका अधिकारी भने आफू निर्वाचित हुनेमा ढुक्क देखिन्छन् । गणितीय हिसाबमा उनलाई कमजोर ठानिए पनि उनको उमेदवारीले प्रेस युनियन र चाैतारीमा हल्ला खल्ला मच्चिएकाे छ । चौतारीका सदस्यहरुले उनैलाई मत दिए भने पासा पल्टिने निश्चित छ । किनकी प्रेस सेन्टरको सहानुभूति उनैलाई देखिन्छ ।

अरु पद निर्विरोधः

नेपाल पत्रकार महासंघ लमजुङमा अध्यक्ष बाहेकका अन्य पद भने निर्विरोध भएको बुझिएको छ । प्राप्त समाचार अनुसार उपाध्यक्षमा बसन्ता भट्ट(युनियन) र बेलिना  थापा(चौतारी), सचिवमा कृष्ण आले(चौतारी), कोषाध्यक्षमा निरज अधिकारी(युनियन), दुई सहसचिव पदमा सीताराम बसेल (चौतारी) र श्रीकला भण्डारी(चौतारी) निर्विरोध भएका हुन् ।

त्यस्तै सदस्यहरुमा घनबहादुर घिमिरे(युनियन), आस गुरुङ(युनियन), श्याम सितल परियार(युनियन) र सुजन बानिया(युनियन) र महिला सदस्यमा शान्ता कमली (युनियन), दलित सदस्यमा शिला बि.क.(चौतारी), जनजाति सदस्यमा सुनिता भुजेल, अल्पसंख्यक सदस्यमा सविना प्रजा(प्रेस सेन्टर) निविरोध निर्वाचित भएका छन् ।

अधिवेशनबाट केन्द्रीय परिषद सदस्यमा रामजी राना (युनियन) पनि निर्विरोध निर्वाचित भए । प्रदेश प्रतिनिधि सदस्यमा भने कसैको उमेदवारी नपरेको मुख्य निर्वाचन अधिकृत सन्तोष पौडेलले बताए ।

प्रतिक्रिया