पाउँदीकाे शिवालय मन्दिर नजिकै एक बालिकाकाे शव भेटियाे

खबरकुञ्ज

बेसीशहर, साउन ८ । लमजुङको सुन्दरबजारमा बिहीबार दिउसो एक बालिकाको शब फेला परेको छ । 

सुन्दरबजार नगरपालिकाको वडा नं. ७ पाउँदीमा रहेको शिवालय मन्दिरदेखि ५ सय मिटर उत्तरतर्फ मस्र्याङदी किनारमा मृत अवस्थामा बालिकाको शब भेटिएको हो । ती बालिका सोही नगरपालिकाको वडा नं. ७ धारापानी बस्ने प्रेमबहादुर घर्ती मगरकी छोरी ११ बर्षकी शान्ति मगर रहेको प्रहरीले जनाएको छ ।

गत साउन २ गते आफ्नी दिदी र अर्की एकजना साथीसंग मस्र्याङदीमा नुहाउन भनि गएकी ती बालिकालाई नुहाउने क्रममा मस्र्याङदीको छालले बगाएर बेपत्ता बनाएको थियो । नेपाली सेना, सशस्त्र तथा जनपद प्रहरी र स्थानीयले समेत नदीमा बेपत्ता भएकी बालिकाको खोजी गरिरहेकामा बिहीबार दिउसो साढे ३ बजे पाउँदी शिवलाय मन्दिर नजिकै शव फेला परेको हो । उक्त शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि प्रदेश अस्पताल बेसीशहर ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

यसैगरि बुधवार राईनास नगरपालिकामा पनि एक महिलाको शब फेला परेको छ । राईनासको वडा नं. ३ टिमुरेकी  ४२ बर्षिय सीता नेपालीको शब राईनासको वडा नं. ६ मेजरगाउँस्थित राईनासटार सिञ्चाई नहरमा भेटिएको हो ।

प्रतिक्रिया