नयाँ बर्ष २०८२ को शुभारम्भका अवसरमा बेसीशहरमा भब्य सांगीतिक कार्यक्रम हुँदै

खबरकुञ्ज

बेसीशहर, चैत ३० गते । लमजुङ सदरमुकाम बेसीशहरमा नयाँ बर्ष २०८२ को शुभारम्भका अवसरमा भब्य सांगीतिक साँझ आयोजना गरिएको छ ।

नयाँ बर्ष २०८२ को शुभारम्भको अवसरमा नेपाल टेलिभिजनले बेसीशहर नगरपालिकासंगको साझेदारीमा बेसीशहरको फूलबारी मञ्चमा नयाँ बर्ष शुभारम्भ साँझ नामको सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । 

नेपाल टेलिभिजन कर्मचारी युनियनको संयोजनमा नेपाल टेलिभिजन र बेसीशहर नगरपालिकाबीच सम्झौता भई लमजुङको पर्यटन प्रबद्र्धन र संस्कृति संरक्षणका लागि नयाँ बर्ष शुभारम्भ साँझ आयोजना गरिएको हो ।

कार्यक्रमका सम्बन्धमा जानकारी गराउने उद्देश्यले शनिबार बेसीशहरमा पत्रकार सम्मेलन गरी नेपाल टेलिभजन कर्मचारी युनियनका अध्यक्ष भोजबहादुर विश्वकर्माले नेपाल टेलिभिजनले हरेक बर्ष नयाँ बर्षको शुभारम्भका अवसरमा देशका विभिन्न भागबाट सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएकोमा यस बर्ष लमजुङलाई छनोट गरिएको जानकारी दिए ।

उनले यस बर्ष लमजुङको घलेगाउँबाट उक्त कार्यक्रम गर्ने लक्ष्य राखिएकोमा घलेगाउँमा ग्रामीण पर्यटनको रजत जयन्तीका साथमा आमन्त्रित राष्ट्रब्यापी फूटबलको आयोजना हुन लागेको र अन्य केही प्राविधिक कारणबस घलेगाउँमा गर्ने भनिएको कार्यक्रम बेसीशहरमा आयोजना गरिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा अध्यक्ष विश्वकर्माले लमजुङको कला संस्कृतिको प्रचार प्रसारका साथै पर्यटन प्रबद्र्धनका लागि नयाँ बर्ष शुभारम्भ साँझ फलदायी हुने विश्वास ब्यक्त गर्दै कार्यक्रममा थानेश्वर गौतम, कुलेन्द्र विश्वकर्मा, राजु गुरुङ, सुमन थापा मगर, अनिता चलाउने, राहुल श्रेष्ठ, मुकेश नेपाली र आशा भुसाल लगायतका ख्यातीप्राप्त कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए ।

यसबाहेक नेपाल प्रहरी क्लव, त्रिवेणी फिल्मस् र स्थानीय कलाकारहरुको समेत कार्यक्रममा प्रस्तुति रहने छ ।

सो अवसरमा बोल्दै बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले सिंगो जिल्लाको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने भएकाले चैत १३ गतेको कार्यपालिका वैठकले कार्यक्रमका लागि नेपाल टेलिभिजनसंग साझेदारी गर्ने निर्णय गरेको जानकारी दिए ।

पत्रकार भेटघाट सम्मेलनमा बताइए अनुसार आइतबार चैत ३१ गते ८.३० बजेदेखि कार्यक्रम शुरु हुनेछ । यसका लागि फूलबारी मञ्चको सजावटको काम भइरहेको छ ।

शुभारम्भ साँझ कार्यक्रम यही चैत ३१ गते राति ८.३० बजेदेखि सुरु हुने र नेपाल टेलिभिजनका विभिन्न च्यानलहरुबाट प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया