सहकारी संस्थाहरूकाे स्थानीय निकायसंग अनुराेधः ऋण नतिर्ने ऋणिहरुलाई सेवा सुविधाबाट बञ्चित गराउ

बेसीशहर । जिल्ला सहकारी संघ लगायत विभिन्न सहकारी सम्बद्ध छाता संगठनहरुले संस्थाहरुले भाखा नाघेको ऋण चुक्ता गर्नका लागि ऋणिहरुलाई दबाव दिन स्थानीय निकायका प्रमुखहरुसंग अनुरोध गरेका छन् ।

सहकारीबाट ऋण लगेर सदस्यहरुले समयमै ऋण नतिर्दा पछिल्लो समय विभिन्न सहकारीहरुमा तरलता अभाव भई बचत कर्ताको बचत रकम समेत फिर्ता हुन नसकेको सन्दर्भमा त्यसरी सहकारीको ऋण नतिर्ने ऋणि सदस्यहरुलाई नगरपालिकाबाट दिइने सेवा सुविधाबाट बञ्चित गराइने सार्वजनिक सूचना जारी गरिदिन ती संस्थाहरुले अनुरोध गरेका हुन् ।

 ती संस्थाहरुले बेसीशहर नगरपालिका, राईनास नगरपालिका लगायतका स्थानीय निकायका प्रमुखहरुलाई भेटेर यस्तो अनुरोध गरेका हुन् । जिल्ला बचत संघ लमजुङ, जिल्ला कफि सहकारी संघ लमजुङ र बेसीशहर क्षेत्र सहकारी समन्वय समितिसमेतका संघ संस्थाले सोमबार बेसीशहरका मेयर गुमानसिंह अर्याललाई भेटेर अनुारेध पत्र बुझाएका हुन् ।


अनुराेध पत्रमा सहकारीमा भएको पुँजी कसैले दिएको दान दातव्य र चन्दा नभई सदस्यहरुले खाइ नखाई वचत गरेको पैसा सदस्यहरूमा ऋणका रुपमा परिचालन भएको र सदस्यहरुलाई बोनससहित फिर्ता गर्नुपर्ने भएकाले उक्त ऋण फिर्ता नहुँदा सहकारी संस्थाहरुमा समस्या उत्पन्न भएको जनाइएको छ ।

अनुरोध पत्रमा केहि उच्छृंंखल तत्वहरुले सहकारी बाट लिएको ऋण वुझाउन पर्दैन भनेर नाराबाजी गर्ने र ऋणी सदस्यहरुलाई उचाल्ने आदि काम भइरहेको उल्लेख गर्दै ती संस्थाहरुले अनुरोध पत्रमा ऋणीहरुबाट भाखा नाघेको ऋण फिर्ताका लागि सहजिकरण गरिदिन आग्रह गरेका छन् ।

अनुराेध पत्रमा नेपालमा २८ हजार ५०० सहकारी संस्था रहेका र तीनमा ७५ लाख भन्दा बढी सदस्यहरू रहेका भन्दै सहकारी संस्था बित्तीय क्षेत्रमा समुदायकाे मुटुकाे रूपमा रहेका उल्लेख छ। साथै पत्रमा संस्थाहरूले देशकाे अर्थतन्त्रमा खेलेकाे भूमिकाबारे पनि प्रकास पारिएकाे छ ।

अनुरोध पत्र लिएर जिल्ला सहकारी संघ लमजुङका अध्यक्ष विजय गुरुङ, जिल्ला बचत संघ लमजुङका अध्यक्ष दुर्गाभक्त धमला, जिल्ला कफी सहकारी संघ लमजुङका  अध्यक्ष विश्व अधिकारी, बेसीशहर क्षेत्र सहकारी समन्वय समितिका अध्यक्ष ताराराज घले लगायत सहकारीकर्मीहरु नगरपालिकाको कार्यालयमा पुगेका थिए ।

जिल्ला बचत संघको नेतृत्वमा राइनासका मेयर खड्गबहादुर गुरुङलाई समेत अनुरोध पत्र बुझाइएको छ । साउन ११ गते अनुरोध पत्र बुझाएपछि राईनास नगरपालिकाले तुरुन्तै सहकारीमा ऋण लिएर नतिर्ने ऋणीहरुलाई ऋण बुझाउन एक सार्वजनिक सूचना नै जारी गरिदिएको छ । 

गत साउन ११ गते बसेको राईनास नगरपालिकाको कार्यपालिका वैठकले निर्णय नै गरेर यस्तो सूचना जारी गरेको हो ।

राईनासका प्रमुख तथा प्रशासकीय अधिकृत गोकणर्राज सुयलले साउन ११ मै एक सार्वजनिक सूचना जारी गर्दै ऋण नतिर्ने ऋणीहरुलाई सहकारीको कार्यालयमा गई किस्ता तिर्न र ऋण बुझाउन भनेका हुन् । उनले ऋण भुक्तानमा कुनै समस्या भए सम्बन्धित संस्थामा नै लिखित रुपमा गुनासो राख्न समेत अनुरोध गरेका छन् ।

यस अघि ऋणी सदस्यहरुले भाखा नाघेको लामो समयसम्म पनि ऋण चुक्ता नगर्दा तरलता अभावका कारण समस्या भएको भन्दै त्यस्ता ऋणीहरुलाई नगरपालिकाको सेवा सुविधाबाट बञ्चित गराउन माग गर्दै बेसीशहरको कालिका बचत तथा ऋण सहकारी संस्थाले नगर प्रमुख गुमानसिंह अर्याललाई भेटेर अनुरोध पत्र दिएकाे थियाे । तर नगरपालिकाले उक्त पत्रकाे वेवास्ता गरेको सो सहकारीका सञ्चालकहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया