राईनास, असोज ११ गते । लमजुङको राईनास नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धी पालिकास्तरीय अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको आयोजनामा राईनास नगरपालिकाको कार्यालयमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया गोष्ठी भएको हो ।
कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख आशमान तामाङले अधिकार प्राप्त ब्यक्ति, कर्मचारी प्रशासनमा रहेका ब्यक्तिबाट अख्तियारको बढी दुरुपयोग हुने गरेको भनदै नेपालमा नीतिगत र डिजिटल भ्रष्टाचार बढ्दै गएको र भ्रष्टाचारको मात्रा पनि हजार, लाखा करोड हुँदै अरबौंमा पुगेको बताए ।
उनले भ्रष्टाचारी करार भएपछि त्यसले ब्यक्तिको तीन पुस्तालाई असर पार्ने भएकाले नियम संगतको काम गर्नुपर्नेमा जोड दिए ।
भ्रष्टाचार पीडित विहिन अपराध भएको भन्दै उनले भ्रष्टाचारमा राज्य पिडित हुने बताए । कार्यक्रमको औचित्यबारेमा प्रकाश पार्दै उनले “सदाचार, निष्पक्षता , निर्भिकता” अख्तियारको नारा रहेको र आयोगले सुशासनको लागि सहजकर्ताको भूमिका खेल्ने बताए ।
कार्यक्रममा राइनासका नगरप्रमुख खड्ग बहादुर गुरुङले राइनास नगरपालिकामा सुशासन भ्रष्टाचार रहित अबस्था सिर्जना गराउन नगरपालिका प्रतिबद्ध रहेको बताए । नगर उपप्रमुख पुष्पराज खनालले अख्तियारको यो कार्यक्रमले आफूहरुलाई खबरदारी भएको भन्दै सुशासनका लागि नगरपालिका पूर्ण प्रतिबद्ध रहेको बताए ।
खबरकुञ्ज