बेसीशहर, मंसिर २१ गते । नृत्यको अभ्यास गर्ने क्रममा लमजुङ सदरमुकाम बेसीशहरमा एक १४ बर्षकी बालिकाको निधन भएको छ । बेसीशहरको भूपू सैनिक आवासीय माविमा कक्षा ८ मा अध्ययनरत डिम्पी तामाङको नृत्य गर्ने क्रममा विद्यालयमा निधन भएको हो ।
आगामी पुस २४ गते प्याब्सन दिवसका अवसरमा हुने कार्यक्रममा विद्यालयको तर्फबाट देखाइने नृत्यका लागि अभ्यास गर्ने क्रममा शुक्रबार दिउसो उनी विद्यालयमै ढलेकी थिइन् । नृत्यका क्रममा एक्कासी ढलेर अचेत भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।
उनलाई नृत्यका क्रममा हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ ।
भूपू सैनिक आमाविका प्रिन्सिपल विनोद गुरुङले नृत्यको अभ्यास गर्नु अघि उनी स्वस्थ रहेकी र डिम्पीले आफूलाई कुनै किसिमको स्वास्थ्य समस्या भएको बारे जानकारी नगराएको बताए । “नृत्य पनि सकिनु, उनी पनि एक्कासी ढल्ने भयो, तत्काल अस्पताल लगियो, तर उनलाई बचाउन सकिएन ।” उनले भने । “प्रिन्सिपल गुरुङका अनुसार डिम्पी राम्रो नृत्य गर्थिन् । “हामीले असल र राम्रो विद्यार्थी गुमायौं, उनको निधनले पूरै विद्यालय स्तब्ध भएको छ, अहिले म यति मात्र भन्न सक्छु ।”–प्रिन्सिपल गुरुङले भने ।
डिम्पी उक्त विद्यालयको भलिवल खेलाडी समेत थिइन् । भलिवलमा उनको राम्रो प्रदर्शन थियो । दोर्दी गाउँपालिकाको वडा नंं –८, माथिल्लो दुवार घर भएकी उनी बेसीशहरमै बसेर पढ्दै थिइन् । उनका पिता ओम बहादुर तामाङ वैदेशिक रोजगारीका लागि संयुृक्त अरब इमिरेट्स (युएई) मा छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले मृतक बालिकाको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र उनका हजुरबुबा लगायतका अभिभावक आएपछि शनिबार शबको पोष्टमार्टम गरिने उनले जानकारी दिए ।