बेसीशहर, भदौ १६ गते । अबिरल र भीषण बर्षाका कारण आज बिहानैदेखि अबरुद्ध भएको डुम्रे–बेसीशहर सडक केहीबेर अघिदेखि एकतर्फी रुपमा सुचारु भएको छ ।
गएरातीदेखि नै परेको अबिरल बर्षाका कारण देउरालीडाँडामा आएको पहिरोले सडक अबरुद्ध भएको थियो । देउरालीडाँडाको ठूलो पहिरोसंगै अर्को पहिरो खेसर सडक नै क्षति पुगेपछि यातायात अबरुद्ध भएकोमा बिहानदेखिको प्रयासपछि एकतर्फी रुपमा सडक खुलाईएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
प्रहरीका अनुसार सडकको माथिल्लो भागबाट माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरोसंगै आएको भलले सडकमा खोतल्दा र निरन्तर पानी परिरहेकाले सडकसमेत भासिए पछि सडक खुलाउन समस्या भएको थियो ।
“अहिले एकतर्फी रुपमा सडक खुलाइएको छ, पानी निरन्तर परिरहे फेरि अबरुद्ध पनि हुन सक्छ ।” उदीपुरमा सडक खुलाउन पुगेका एक प्रहरीले भने ।
बिहानैदेखि सडक अवरुद्ध भएपछि बेसीशहरबाट काठमाडौं पोखरा लगायत विभिन्न भागमा जाने सवारी साधन र बाहिरबाट बेसीशहर आउने सवारीसाधन अलपत्र परेका थिए । सडक एकतर्फी खुलेसंगै सवारी साधानहरु गन्तब्यतर्फ लागेका छन् ।
डुम्रे–बेसीशहर–चामे सडक अन्तर्गत देउरालीडाँडाको पहिरो रोकथाम अझै सकिएको छैन । पहिलेको पहिरोको रोकथामको काम नसकिँदै आडैमा अर्को पहिरो खस्न थालेपछि यात्रुहरुले सास्ती भोग्नु परेको छ । यसबाहेक सोही ठाउँ नजिकै अँधेरी खोला र उदीपुर ब्यारेक अगाडि समेत माथिबाट आउने भलले सडकमा लेदोसहितको पहिरो थुपारेर सडक अबरुद्ध गराउँदा दैनिक रुपमा यातायात अवरुद्ध हुने गरेको छ ।
खबरकुञ्ज