बेसीशहर, बैशाख ६ गते । लमजुङको बेसीशहर नगरपालिकामा महिला स्वास्थ्य तथा पाठेघरको परीक्षण शिविर सम्पन्न भएको छ ।
लायन्य क्लव अफ लमजुङ टुगेदर वी क्यानको आयोजना, बेसीशहर नगरपालिका र लमजुङ अस्पतालको सहयोग एवं बेसीशहर नगरपालिका वडा नंं ८ को समन्वयमा शिविर सञ्चालन गरिएको हो ।
शिवरको बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले उदघाटन गरे । उदघाटन मन्तब्य राख्दै मेयर अर्यालले मानिस स्वस्थ भयो भने मात्र काम गर्न सक्ने भएकाले स्वस्थ हुन जरुरी रहेको चर्चा गर्दै स्वास्थ्यको क्षेत्रमा लायन्स क्लवले खेलेको भूमिकाको सरहना गरे ।
सो अवसरमा उनले गाउँघरमा मात्र नभइ शहरी क्षेत्रमा समेत ब्यक्तिगत स्वास्थ्य परीक्षण गर्ने परिपाटीको विकास नभएको भन्दै आफ्नो स्वास्थ्यको बारेमा समयमा आफैले ख्याल नगरे पछि ठूलो समस्या निम्तन सक्ने भएकाले समय समयमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए । उनले नगरपालिकाको सिमित बजेटले गर्नै पर्ने धेरै काम गर्न नसकिएको लाचारी ब्यक्त गरे ।
बेसीशहरको वडा नंं ८ बगैंचास्थित दीगो विकास आमा समूहको भवनमा गरिएको पाठेघर परीक्षण शिविरमा लमजुङ अस्पताका प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. गोमा रिमाल, शोभा श्रेष्ठसहितको स्वास्थ्यकर्मीहरुले महिलाहरुको पाठेघर परीक्षण गरेका थिए । शिविरमा ३५ जनाको परीक्षण गरिएकोमा २ जनामा VIIA पोजेटिभ देखिएको थियो । उनीहरुसहित शिविरमा आएका अन्य महिलामध्ये पाठेघरको थप परीक्षण गर्न आवश्यक देखिएकाहरुलाई अस्पताल जान सिफारिस गरिएको थियो ।

नेपालमा बर्षेनी पाठेघरको क्यान्सरले धेरै महिलाको ज्यान जाने गरेको छ । स्त्रीरोग भन्नाले पाठेघर, डिम्बासय, डिम्बनली र पाठेघरको मुखको क्यान्सर पनि हुन सक्छ । यी चारवटा क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर चाहीँ शुरुमा पहिचान गर्न सकिए क्यान्सर हुनबाट रोकथाम गर्न सकिने प्रसुति रोग विशेषज्ञ डा. गोमा रिमाल बताउँछिन् ।
उनका अनुसार ३० वर्षको उमेरमा सबै महिलाहरुले पाठेघरको मुखको स्क्रिनिङ गर्न सक्छन् । जुन सजिलै पाउन सकिन्छ । लाज मानेर, देखाउन नचाहेर गर्दाचाहीँ पछि क्यान्सर पनि हुन सक्छ । क्यान्सर भइसकेपछि पैसा पनि धेरै खर्च हुने, घरखेतनै बेच्नुपर्ने तथापी मानिस बाँच्न पनि नसक्ने अवस्था हुन सक्छ । कसैलाई एचआइभी भएको छ, या धेरै जनासंग यौन सम्पर्क छ, १६ वर्ष भन्दा अघि विवाह भएको या सम्पर्क कायम गरेको छ भने अनिवार्यरुपमा पाठेघरको मुखको स्क्रिनिङ गरेमा क्यान्सर हुने सम्भावना पत्ता लाग्छ । क्यान्सर हुन लागेको अवस्था पत्ता लाग्दैमा क्यान्सर हुने होइन । समयमै थाह पाउन सके क्यान्सर नै नलाग्ने र स्वस्थ हुन सकिने चिकित्सकहरु बताउँछन् ।