बेसीशहर । लगातारकाे बर्षाका कारण अाएकाे बाढी र पहिराेले मध्यपहाडी लाेकमार्ग अन्तर्गत लमजुङकाे मध्यनेपाल नगरपालिकाका विभिन्न भागकाे सडकमा क्षति भएकाे छ ।
शनिबारदेखि परेकाे लगातारकाे बर्षापछि लमजुङकाे मध्यनेपाल नगरपालिका ६ स्थित मिदिम खाेलाको पुल नजिकै पहिरो खस्दा भर्खर मात्रै कालोपत्रे गरिएको मध्यपहाडी लोकमार्ग क्षतिग्रस्त भइ यातायात अबरुद्ध भएको छ ।

मध्यनेपालकै वडा नंं ६ मा पर्ने लामासाेती र पुरानाेडिहीबीच भइ बग्ने पिस्तीखाेलामा अाएकाे बाढीले पनि लाेकमार्ग अबरूद्ध भएकाे छ ।
लगातारकाे झरीले लाेकमार्गका विभिन्न खण्डमा पहिराेले रूख लडाएकाे छ भने सडक नालीमा भल पसरे पुरिँदा कालेपत्रे गरिएकाे सडक ठाउँ ठाउँमा क्षतिग्रस्त भएपछि यातायात अबरूद्ध छ ।

सडक अबरूद्ध भएपछि मध्यपहाडी लाेकमार्ग अन्तर्गत लमजुङकाे सुन्दरबजार, भाेर्लेटार हुँदै कास्कीकाे रूपा गाउँपालिकातर्फ सञ्चालन हुने यातायातका साधनहरू बिमिरेभञ्ज्याङ, नेटा, बांग्रे पुल्चोक हुँदै स्यास्त्री हुँदै हुँदै वैकल्पिक सडकबाट सञ्चालन भइरहेका छन् ।
स्थानीय बासीन्दाले बाटो छिटोभन्दा छिटो अबरूद्ध सडक खुलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

बर्षाले ठाउँ ठाउँमा सडकमा क्षति पुगेर यातायात अबरूद्ध भए पनि जनधनकाे क्षतिकाे खबर भने अहिलेसम्म प्राप्त भएकाे छैन । बर्षाका कारण लमजुङमा मर्स्याङदी, दाेर्दी, किसेदी, पाउँदी, मिदीम, मादी, ङादी, रूदी, रिस्ती तथा पिस्ती खाेला नदीहरूमा जलसतह बढेकाे छ ।
जल तथा माैसम बिज्ञान विभागले जारी गरेकाे माैसमसम्बन्धी पूर्वानूमान अनुसार स्थानीय निकायहरूले पनि नदी तथा खाेलाहरूका जलसतह बढ्ने भन्दै सावधानी अपनाउन सर्वसाधारणलाइ अनुराेध गरेका छन् ।