बेसीशहर, जेठ २४ । हरेक ब्यक्तिले जन्मदिनमा एउटा एउटा विरूवा राेपे पनि जलवायु परिवर्तनले विश्वभरकाे वातावरणमा पारेको प्रतिकूल प्रभाव न्युनिकरणका लागि ठूलाे सहयाेग पुग्ने बेसीशहरमा बुधवार भएकाे एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
जन्मदिनमा वृक्षारोपण अभियान नेपाले विश्व वातावरण दिवसको अवसरमा बेसीशहरमा गरेकाे कार्यक्रममा सहभागीहरूले वनजंगलकाे संरक्षण र बृक्षाराेपण अभियानले विश्वकाे प्रतिकूल वातावरण न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् । साे अवसरमा बाेल्दै बेसीशहरका नगरप्रमुख गुमानिसंह अर्यालले हरेक ब्यक्तिले जन्मदिनमा वृक्षरोपण गर्ने हाे भने जलवायु परिवर्तनका कारण वातावरणमा पारेको प्रभाव न्युनिकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । वातावरणकाे प्रदुषणले मानव जीवनमा पर्ने असरप्रति सचेत हुदै वातावरण संरक्षण गरी पर्यवरणकाे सन्तुलन कायम राख्नका लागि जन्मिदनमा बृक्षाराेपण अभियान महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे ।
जन्मदिनमा वृक्षरोपण अभियान नेपालका अध्यक्ष एवं परिकल्पनाकार बासुदेव सेढाईले पर्यावरणकाे सन्तुलन कायम राख्न वृक्षरोपण जरूरी रहेकाे बताए । उनले प्रकृतिको संरक्षण, स्वच्छ वातावरण, जीवजगतको रक्षा र पृथ्वी बचाउ अभियानको सन्देश दिन प्रत्येक मानिसले आफ्नो जन्मदिनको अवसरमा न्युनतम एउटा विरुवा रोप्ने प्रचलन स्थापित गर्न जन्मदिनमा वृक्षरोपण अभियान संचालन गरेको जानकारी दिए ।
प्रकृतिको संरक्षण, स्वच्छ वातावरण, असल संस्कारलाई प्रोत्साहन जन्मदिनमा वृक्षारोपण पृथ्वी बचाऔ अभियान भन्ने नाराका साथ जन्मदिनमा वृक्षरोपण अभियान नेपालले बुधवार बेसीशहरमा प्रभातफेरी तथा कविता प्रतियोगिता आयोजना गरेको थियाे बेसीशहरको मनाङे चौताराबाट शुरू भएकाे प्रभातफेरी शेराबजारमा पुगरे टुंगिएकाे थियो । शेरास्थित प्रकृति नारी समाजको भवनमा वृक्षारोपण गरी प्रभातफेरी गरी लमजुङ उद्याेग बाणिज्य संघकाे सभाहलमा विद्यालय स्तरिय कविता प्रतियोगिता गरिएकाे थियाे ।

जलबायु परिवर्तनको प्रभाव रोक्न जन्मदिनमा वृक्षरोपण अभियानको भूमिका विषयक कविता प्रतियोगितामा पाणिनि संस्कृत मावि दुराडाँडाका आशिष भट्टले प्रथम, अर्थली प्याराडाइज बोर्डिङ बेसीशहरका रमित पाण्डेले द्वितीय र विद्याज्योति मावि सुन्दरवजार ५ तार्कुका सुस्मिता न्यौपानेले तृतीय स्थान पाए । त्यस्तै भू.पू. सैनिक आवासिय मा.वि की अनामिका गुरुङ र आदर्श बाल माविकी सेविका जोशीले सान्त्वना स्थान प्राप्त गरे । प्रतियाेगितामा सामुदायिक तथा सस्थांगत विद्यालयका २५ जना छात्रछात्रा सहभागि थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने छात्रछात्रालाइ क्रमशः ५ हजार, ३ हजार, २ हजार र १/१ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियाे ।
खबरकुञ्ज