बेसीशहर, बैशाख १६ गते । लमजुङकी बरीष्ठ समाजसेवी सानुमाया गुरुङ सम्मानित भएकी छन् । उनलाई लायन्स क्लवले शनिबार बेसीशहरमा सम्मान गरेको हो ।
८६ बर्षको उमेरमा समेत अनवरत रुपमा समाजसेवामा क्रियाशील गुरुङको योगदानका कदर गर्दै लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको रिजन ९ कन्फ्रेन्सका अवसरमा उनलाई सम्मान गरिएको हो । सो अवसरमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको रिजन ९ का रिजन चेयरपर्सन पायल शर्मा, लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी र प्रथम भाईस डिष्ट्रिक गभर्नर बिनोद ढुंगानाले समाजसेवी गुरुङलाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ सम्मान गरेका थिए ।
रिजन ९ का रिजन चेयरपर्सन पायल शर्माले सो अवसरमा भनिन्- “मानवतालाई मूलमन्त्र मानि जीवनको उत्तरार्धसम्म पनि निरन्तर सामाजिक सेवामा क्रियाशील गुरुङले समाजसेवाको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उहाँलाई सम्मान गरेका हौं ।”
गुरुङलाई दिइएको सम्मानपत्रमा “आफ्नो मानवचोला नै सामाजिक सेवामा खर्चिएर जुन उल्लेखनीय योगदान गर्नु भएको छ, विशेष गरी द्वन्द पिडीत बालबालिकाका लागि असल अभिभावक भएर निभाउनु भएको भूमिका र सेवा भावलाई उच्च मूल्यांकन गर्दै डिष्ट्रिक्ट ३२५ आई नेपाल रिजन ९ को रिजन कन्फ्रेन्सको अवसरमा यहाँलाई यस सम्मान पत्रद्वारा विभूषित गरिएको छ, यहाँको सक्रिय सामाजिक जिवनका साथै सु-स्वास्थ्य र दिर्घायुको कामना गर्दछौं ।” भनिएको छ ।
सम्मान कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, प्रथम भाईस डिष्ट्रिक गभर्नर बिनोद ढुंगाना, आरसिडिसी लमजुङका अध्यक्ष राजेन्द्र बोहरा लगायतले मन्तब्य राखेका थिए ।
कार्यत्रममा सम्मानित व्यक्तित्व समाजसेवी सानुमाया गुरूङले आफ्नो पालामा पढ्ने चलन नरहेको र छोरी भएका कारण आफूले पढन नपाए पनि सानैदेखि आफूमा सामाजिक भावना जागृत भएकोले समाजसेवामा लागेको बताइन् । उनले समाजसेवा गर्न विभिन्न चुनौति सामना गर्नुपर्ने बताउँदै अहिले आफू अध्यक्ष रहेको आदर्श महिला तथा बालविकास केन्द्रले द्वन्द्धपीडित असाहय बालबालिकालाई संरक्षण दिइरहेको र उक्त संस्थाको भवन निर्माणको अभियानमा सहयोग गर्न लायन्स क्लवलाई आग्रह गरेकी थिइन् ।
१९९५ माघ १० गते लमजुङको गिलुङमा जन्मिएकी सानुमाया गुरुङे ०२९ सालदेखि सक्रिय रुपमा समाजसेवामा लागेकी हुन् । उनी तत्कालीन ब्यवस्थामा नेपाल महिला संगठनको जिल्ला अध्यक्ष हुँदै महिला अधिकारको क्षेत्रमा क्रियाशील रहिन् । साथै उनले नेपाल रेडक्रस सोसाइटी लमजुङको जिल्ला सभापति (२०३४-०३८), गिलुङ गाउँ विकास समितिको अध्यक्ष, नेपाल महिला संघ लमजुङको अध्यक्ष भइ धेरै बर्ष काम गरेकी छन् । हाल उनी आदर्श महिला तथा बालविकास केन्द्रको अध्यक्ष छन् ।
उनले महिला संगठनका सभापति रहँदै गर्दा २०४५ सालमा उनले आदर्श महिला सीप विकास केन्द्रको स्थापना गरी लमजुङका ग्रामीण भागका महिलाहरुलाई सिलाई कटाइ लगायत विभिन्न सीपमूलक तालिम सञ्चालन गरी महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्यमा नेतृत्व गरेकी थिईन् । समाजसेवी गुरूङले २०५७ देखि तत्कालीन द्वन्द्धका क्रममा अभिभावक गुमाएका बालबालिकाको संरक्षणका लागि मुठीदान अभियान सञ्चालन गरेकी छन् । अहिले दाताहरुको मुठीदानबाटै अनाथ बालविकास केन्द्र सञ्चालनमा छ । केन्द्रका लागि लागि एक करोड अक्षयकोष बनाउने अभियान थालेकी सानुमायाले ४० लाख रुपैयाँ आफैँले दान दिएकी छन् ।