लमजुङबाट सबै भन्दा बढी कर तिर्ने पराजुली कन्स्ट्रक्सन सम्मानित

खबरकुञ्ज

बेसीशहर, मंसिर १० गते । लमजुङका युवा ब्यवसायी सतिश पराजुली लमजुङ जिल्लाबाट सबै भन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानित भएका छन् ।

पराजुलीको कम्पनी पराजुली कन्स्ट्रक्सन प्रा.लि.आर्थिक बर्ष २०७९÷०८० मा लमजुङ जिल्लाबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने कम्पनीको रुपमा आन्तरिक राजश्व कार्यालय दमौलीबाट सम्मानित भएको हो । 

राष्ट्रिय कर दिवस २०८१ का अवसरमा मंसिर ७ गते दमौलीमा आयोजित एक समारोहबीच विभागका महानिर्देशक रामप्रसाद आचार्य, तनहूँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र प्रमुख कर अधिकृत डा. लालबहादुर खत्रीले पराजुलीलाई दोसल्ला र सम्मानपत्रका साथ सम्मान गरेका हुन् ।


लमजुङको भोर्लेटार घर भएका पराजुली पराजुली कन्स्ट्रक्सन प्रा.लि.का निर्देशक र नेपाल निर्माण ब्यवसायी संघ लमजुङका अध्यक्ष समेत हुन् । 

सरकारले राष्ट्रिय कर दिवसका अवसरमा हरेक बर्ष उत्कृष्ट करदातालाई सम्मान गर्ने गरेको छ । यस क्रममा लमजुङबाट सर्वाधिक कर तिर्नेमा गत बर्ष पराजुली कन्स्ट्रक्सन छनोट भएको हो । 

पराजुली कन्स्ट्रक्सन प्रा.लि.ले आर्थिक बर्ष २०७९÷०८० मा ४७ करोड ४८ लाख ७१ हजार ८३६ रुपैयाँको कारोबार गरी ७४ लाख ८५ हजार ४५४ रुपैयाँ आयकर दाखिला  गरेको थियो ।

आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९÷८० मा देशभरीबाट सबैभन्दा बढी कर तिर्ने करदाताहरुलाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा शुक्रबार सम्मान गरेको थियो ।


प्रतिक्रिया