भुलभुले, माघ १६ गते । लमजुङको मर्स्याङ्दी गाउँपालिका प्रशासकीय भवन निर्माणमा जुटेको छ । गाउँपालिकाको केन्द्र भुलभुलेमा सोमबारबाट गाउँपालिकाको भवन निर्माणको थालनी गरिएको हो ।
सोमबार भुलुभुलेमा एक समाराेहबीच गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाको भवन निर्माणको शिलन्यास गरेका हुन् ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि संघीय सरकारको ६०/४० को अनुपातमा अनुदान उपलब्ध गराउन सक्ने प्राबधान स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ मा रहेकाले त्यसकै आधारमा गाउँपालिकाले प्रशासकीय भवन निर्माणका ठेक्का आह्वान गरेको थियो ।
कूल ८ करोड ९७ लाख ९६ हजार ४ सय ७० रुपैयाँ ६९ पैसाको लागत इस्टिमेट तयार गरी ठेक्का प्रक्रिया अघि बढाइएकामा शैलेन्द्र-जयज्योति-बोद्धनाथ जेभीले भ्याटसहित ५ करोड ९७ लाख ६६ हजार ७ सय ३ रुपैयाँ ९५ पैसामा प्रशासकीय भवन निर्माण गर्न मञ्जुर भई भव निर्माणको ठेक्का सम्झौता गरिसकेको छ ।


संघीय सरकारले ६० प्रतिशत र मस्र्याङदी गाउँपालिकाको ४० प्रतिशत लगानी रहने प्रशासकीय भवनको निर्माणकार्य २०८२ जेठ २३ गते भित्र सक्ने गरी ठेक्का सम्झौता भएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।
निर्माणाधीन प्रशासकीय भवन बेशमेन्ट पार्किङ बाहेक ३ तल्लाको रहने छ । भवनमा कूल २५ वटा कोठा रहने र अध्यक्ष र उपाध्यक्षको अलग-अलग कार्यकक्ष सहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, प्रशासकीय प्रमुखको कार्यकक्ष, पालिका अन्तर्गत सबै विषयगत शाखाका लागि अलग-अलग कार्यकक्षको ब्यवस्था हुनेछ । यसबाहेक सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर, बेशमेन्ट पार्किङ भवनमा रहनेछन् ।


हाल भुलभुलेमा साँघुरो घरमा सञ्चालनमा रहेको गाउँपालिकाको कार्यालयले सर्वसुलभ सेवा दिन नसकेकोमा नयाँ र सुविधासम्पन्न भवन बनेपछि जनताले एकै भवनबाट सहज सेवा पाउने विश्वास लिइएको छ ।
खबरकुञ्ज