काठमाडौं, जेठ ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अाज संसदमा सांसदहरूले साेधेका विभिन्न प्रश्नकाे जवाफ दिएका छन् ।
कार्यसूचि अनुसार संसदमा अाज सत्तारूढ तथा विपक्षी दलका सांसदहरूले विभिन्न समसामयिक बिषयमा प्रधानमन्त्रीलाइ प्रश्न साेधेका थिए ।
प्रश्नहरूकाे जवाफ दिँदै प्रधानमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानमा आशंका नगर्न सांसदहरूलाइ आग्रह गरे। उनले नक्कली भुटानी शरणार्थी प्रकरण कुनै पार्टी, नेता विशेषको विषय नभएको र कुनै किसिमकाे हस्तक्षेप नहुने भन्दै छानवीन निष्कर्षमा पुग्ने बताए ।
आफूले गृह मन्त्रीलाई दोषी कोही नछुटुन्, निर्दोष नपरुन भनेर निर्देशन दिएको प्रधानमन्त्रीले संसदलाइ जानकारी दिए ।
माओवादी लडाकुहरूको शिविरमा अर्बौं भ्रष्टाचार गरेको आरोपका सम्बन्धमा प्रधानमन्त्री प्रचण्डले अाफूलाइ पूर्वाग्रही भएर याे अाराेप लगाइएकाे जवाफ दिए ।
उनले संसदमा भने– "यो विषयमा कसैले दिएको उजुरीमा छानबिन गर्न र दोषी देखिए आफैं जेल जान समेत तयार छु ।"
प्रश्नोत्तरमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पूर्व लडाकुका नाममा अर्बौं रकम भ्रष्टाचार भएको भन्दै संसदीय छानबिन गर्न तयार हो भनेर प्रधानमन्त्रीलाइ प्रश्न गरेका थिए ।
प्रधानमन्त्रीले टिकापुर घटनामा संलग्नको आरोपमा जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीको विषय छिट्टै टुंगो लगउने पनि बताए । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले चौधरीलाई छुटाउने प्रयास भइरहेको बताए ।