बेसीशहर, असार ९ गते । नेपाल पत्रकार महासंघ लमजुङ शाखा नेकपा एमाले निकटको पत्रकारहरुको संगठन प्रेस चौतारीको पोल्टामा जाने भएको छ ।
महासंघको केन्द्रीय समितिले हालै सार्वजनिक गरेको मतदाता नामावली अनुसार महासंघको जिल्ला शाखामा आवद्ध पत्रकारहरुको तथ्याङ्कले निर्वाचन अगावै महासंघ शाखामा प्रेस चौतारीको पूणर् बहुमत देखिएपछि प्रेस युनियनभित्र खैलाबैला मच्चिएकाे छ ।
सार्वजनिक भएको मतदाता नामावलीमा शाखामा ३३ जना पत्रकार आवद्ध छन् । तीमध्ये प्रेस चौतारीका मात्रै १७ जनाको नामावली देखिएपछि महासंघको लमजुङ शाखामा पुरै टीम चौतारी पक्षीय पत्रकारहरुको हुने देखिएको हो ।
नयाँ मतदाता नामावली अनुसार नेपाली कांग्रेस निकटका पत्रकारहरुको संख्या जम्मा ९ जना छ । माआवादी केन्द्र निकट पत्रकारहरुको संख्या ५ र रास्वपा निकट पत्रकारको संख्या १ र कुनै पनि पार्टीमा आवद्ध नरहेका पत्रकारको संख्या १ जना छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको निर्वाचन यही असार २२ गते एकसाथ हुँदैछ । यो निर्वाचनमा लमजुङमा एमाले निकटको प्रेस चौतारी बाहेकका सबै पत्रकार एक ठाउँमा उभिए पनि चौतारीकै कुनै एक पत्रकारले क्रस मत नदिए सम्म अरुले जित्ने कुनै सम्भावना देखिदैन ।
नेपाल पत्रकार महासंघमा अहिले नेपाली कांग्रेस निकटको प्रेस युनियनको नेतृत्व छ । गएको अधिवेशनमा प्रेस युनियन र प्रेस सेण्टरबीच गठबन्धन भइ युनियनका परमेश्वर अधिकारी अध्यक्ष निर्वाचित भएका थिए । गठबन्धनको बहुमत हुँदा पनि उपाध्यक्षमा प्रेस चौतारीका चौतारीका अनुज अधिकारी विजयी भएका थिए । सचिवमा प्रेस सेण्टरका रुद्रहरि ढकाल र कोषाध्यक्ष, सहसचिव र सदस्यहरु प्रेस युनियन र प्रेस सेण्टरका सदस्यहरु विजयी भएका थिए ।
यस पटकको निर्वाचनमा भने प्रेस युनियनले कुनै पद पनि नजित्ने पक्का भएको छ । युनियनले प्रेस सेण्टर र सो बाहेक अन्य सबैसंग गठबन्धन गर्दासमेत नजित्ने अवस्था देखिएपछि युनियनका सदस्यहरु चिन्तित देखिएका छन् ।
यता प्रेस चौतारीका सदस्यहरुमा भने खुशीको लहर दौडिएको छ । जिल्ला शाखा र प्रदेश समितिबाट समेत सदस्यता सिफारिसमा नपरेकाहरु केन्द्रबाट सदस्य बनेर आएपछि चौतारी पक्षधरको खुशी बढेको हो । सदस्यबाट नाम हटाइएकोमा प्रेस चौतारीले लामो समयसम्म जिल्ला शाखामा तालाबन्दी समेत गरेको थियो । फलस्वरुप सिफारिसमा नपरेका चौतारीका सदस्यहरुको समेत नाम थपिएर आएपछि निर्वाचन आफ्नो पक्षमा आउने भन्दै उनीहरु खुशी भएका छन् ।
यता युनियनका सदस्यहरुको भने मनोबल गिरेको छ । सम्पूणर् बल लगाउँदा समेत कुनै सिट नजित्ने देखिएपछि उनीहरुको मनोबल गिरेको हो । प्रेस चौतारीलाई सहज बनाउन युनियनका नेताहरुले आफू पक्षीय पत्रकारहरुलाई सदस्यता नदिनुका साथै आफ्नै सदस्यहरुको सदस्यतासमेत नविकरण नगरेपछि उनीहरुमा आक्रोस देखिएको छ ।
अझ केन्द्रमा भएको राजनीतिक गठबन्धनका कारण प्रेस चौतारी र प्रेस सेण्टरको गठबन्धन बन्ने भएपछि अब कहिल्यै युनियनले महासंघको निर्वाचन जित्न नसक्ने अवस्था सिर्जना भए पछि वर्तमान नेतृत्वप्रति उनीहरुको आक्रोश बढेको हो ।