पुर्खाकाे चिनाेकाे रूपमा रहेकाे ऐतिहासिक थापाकाे चाैताराे पुनर्निर्माण

बेसीशहर, फागुन ११ गते । बेसीशहर नगरपालिका वडा नंं ३ दनाइगाउँमा रहेकाे परम्परागत थापाकाे चाैताराे पुनर्निर्माण गरिएकाे छ ।

झण्डै ६२ बर्ष अघि बनाइएकाे याे चाैताराे गाउँशहर बेसीशहर ओहाेर दाेहाेर गर्दा थकाइ मार्नका लागि बनाइएकाे थियाे । तत्कालीन गाउँशहर दनाईगाउँका प्रतिमान थापाकी श्रीमती धनकुमारी थापाले याे चाैताराेकाे निर्माण गरेकी थिइन् । त्यतिबेला चाैताराे बनाउनु पुण्यकाे काम मानिन्थ्याे । बाटाे हिँड्दा थाकेर लखतरान भएका बटुवाहरू, भारी बाेक्ने भरियाहरू चाैताराेकाे शितलमा बसेर थकाइ मारून् भन्ने अभिप्रायले चाैताराहरूकाे निर्माण गरिएकाे हुन्थ्याे । तर पछिल्लाे समय गाउँघरमा चाैतारा नासिने क्रम बढेपछि दनागाउँका थापा खलकले आफ्ना पुर्खाले बनाएकाे चाैताराेकाे पुनर्निर्माण गरी संरक्षण गरेका हुन् ।

नागाउँका हरि थापाकाे सक्रियतामा जीर्ण भएकाे याे चाैताराेकाे पुनर्निर्माण गरिएकाे हाे । सामाजिक काममा समेत दनाइगाउँका थापाहरूकाे उल्लेख्य सहभागिता छ । पुर्खाले बनाएकाे चाैताराे जीर्ण भएकाले पुर्खाकाे चिनाेलाइ संरक्षण गर्नका लागि दाजुभाइहरूले सल्लाह गरी चाैताराे पुनर्निर्माण गराएका हुन् । यस कामका लागि त्यहाँका थापा खलकहरूले रकम संकलन गरेका थिए । पुर्खाकाे चिनाे थापाकाे चाैताराे पुनर्निर्माण गर्ने कुरा थाह पाएपछि पराइ घर पुगेका छाेरी चेलीहरूलेसमेत सहयाेगार्थ रकम पठाएका स्थानीय हरि थापाले बताए ।

उनले दिएकाे जानकारी अनुसार चाैताराे पुनर्निर्माणका लागि १ लाख ८३ हजार १६५ रूपैयाँ खर्च लागेकाे छ । यस कार्यका लागि स्थानीय टेकबहादुर थापाले २५ हजार, धनबहादुर  थापाले २५ हजार, गंगामाया थापाले २५ हजार, ज्ञानबहादुर थापाले १५ हजार, खड्कबहादुर थापाले १० हजार, हरि थापाले १० हजार १०५, अशाेक थापाले १० हजार, श्रीकृष्ण थापाले ५ हजार सहयाेग गरेका थिए ।

यसबाहेक विवाह गरेर अन्यत्र गएका थापा परिवारकै छाेरीचेलीहरूले समेत चाैताराे पुनर्निर्माणका लागि सहयाेग गरेका छन् । यसरी सहयाेग गर्नेहरूमा मञ्जु थापा दनाबाट १० हजार, कल्पना थापा भण्डारीबाट १० हजार, दुर्गा थापा अधिकारीबाट ७ हजार ५ सय, निर्मला थापा भण्डारीबाट ५ हजार ५५५, सर्मिला थापा तामाङबाट ५ हजार ५, मीरा थापा बस्नेतबाट ५ हजार, राधा थापाबाट ५ हजार, अञ्जु थापा भण्डारीबाट ५ हजार र शाेभा थापा गाैलीबाट ५ हजार रूपैयाँ सहयाेग प्राप्त भएकाे थापाले जानकारी दिए ।

इतिहास बाेकेकाे याे चाैताराे गाउँशहर बेसीशहर गर्नेहरूले थकाइ मार्ने चाैताराे हाे । भारी बाेकेकाहरूले भारी बिसाएर सुस्ताउने, गाउँलेहरू जम्मा भएर छलफल गर्ने र केटाकेटीहरू जम्मा भएर खेल्ने ठाउँकाे रूपमा रहेकाे चाैताराे केही बर्षदेखि जीर्ण थियाे। पुर्खाहरूले बनाइदिएकाे चाैताराेकाे संरक्षण गर्नुपर्छ भनेर सबै मिलेर संरक्षण गरिएकाे उनले बताए। अहिले चाैतारकाे जगैदेखि सिमेण्टसहितकाे गाह्राे उठाइनुका साथै चाैताराेमा रेलिङसमेत राखिएकाे उनले बताए ।

बेसीशहर गाउँशहर सडकमै पर्ने याे चाैताराेबाट बेसीशहर बजारकाे सुन्दर दृष्य अवलाेकन गर्न सकिन्छ । 

थापा परिवारकाे याे कामला गाउँलेहरूले पनि सरहना गरेका छन् । स्थानीय सन्ताेष खनिया भन्छन् – "एउटा उदाहरणीय अनि पुण्यकाे काम गर्नुभएकाेमा सार्है खुशी लाग्याे । अहिलेकाे याे समयमा आएकाे वजेटलाई पनि लुक्षाचुडी गरि कामकाे वजनमा भन्दा पेटकाे भाेजनमा प्राथमिकता पाउने प्रचलन रहेकाेमा याे महत्वपुर्ण कामले यहाकाे टाेल, समाज अनि स्थानीय निकायहरूलाई ठूलाे पाठ सिकाएकाे छ । सार्वजनिक स्थानमा रहेका पाटी, पाैवा,चाैतारी, मठ मन्दिर अनि अन्य सम्पदाहरूकाे संरक्षण गर्ने दायित्व सरकार अनि स्थानीय निकायकाे भए पनि त्यसकाे अपेक्षा नगरी थापा परिवारले व्यक्तिगत खर्चमा नै चाैतारीकाे पुनःनिर्माण कार्य गरेकामा हृदयदेखि धन्यवाद । यसरी नै सवै घर अनि समाजकाे साेच परिवर्तन हुने हाे भने देश वन्न समय लाग्दैन ।" 


प्रतिक्रिया