बेसीशहर । राष्ट्रिय युवा संघ लमजुङले गत असाेज ७ गते जिल्ला अस्पताल लमजुङमा भएकाे भनिएकाे घटना अतिरञ्जित गरिएकाे भन्दै साेही घटनामा संलग्न रहेकाे भनि हिरासतमा राखिएका संगठनका नेता एवं बेसीशहर नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष ऋषिराम बस्नेतको रिहाइकाे माग गरेकाे छ ।
युवासंघ लमजुङले उक्त घटनाको सत्य तथ्य छानविनकाे माग गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङमा ज्ञापन पत्र समेत बुझाएको छ । बुधवार युवा संघ लमजुङका अध्यक्ष योगबहादुर गुरुङसहित युवासंघ लमजुङकाे प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाइ ज्ञापन पत्र बुझाएको हो ।
युवा संघकाे ज्ञापन पत्रमा मिति २०८० साल आश्विन ७ गते राती १०ः३० बजे लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिका वडा नं ७ का अध्यक्ष ऋषिराम बस्नेतले आफ्नी आमाको उपचारको लागि लगेकाे र उनलाइ डेंगी देखिएकाेले भर्ना गर्ने क्रममा विरामीको आफन्तसँग गरिने मन्जुरीनामा पत्रमा गरिने हस्ताक्षरको व्यहोरामा अपरेशन नगर्नु पर्ने विषयमा अपरेशन गर्नु पर्ने र सो जिम्मा आफन्तले लिनु पर्ने उल्लेख भएको बिषयमा सामान्य विवाद भएकाे उल्लेख छ ।
ज्ञापन पत्रमा वडाध्यक्ष बस्नेत र अस्पतालका डाक्टर सन्दिप अधिकारीबीच साेही असामन्जस्यता उत्पन्न भइ सामन्य विवाद भएको र परिस्थितिलाई अतिरञ्जित गरी अस्पतालको कर्मचारीले नियोजित हिसावले एकतर्फी रूपमा वडा अध्यक्ष बस्नेतकाे चरित्र हत्या गरेकाे जनाइएकाे छ ।
युवा संघले अस्पताल भित्र भएको यथार्थ घटनाको सत्य तथ्य छानविन गरी वास्तविकता बाहिर ल्याउन पनि प्रशासनकाे ध्यानाकर्षण गराएकाे छ । घटनाका प्रत्यक्षदर्शी, सिसिटिभी फुटेज लगायतका उपकरणको सहयोग लिई चाँडो भन्दा चाँडो छानविन गरी गिरफ्तर गरिएका ऋषिराम बस्नेतको तुरुन्त रिहाईको माग गर्दै युवा संघले त्यसाे नभए जस्तोसुकै कदम चाल्न वाध्य हुने चेतावनी समेत दिएकाे छ ।
युवा संघ लमजुङका अध्यक्ष याेग बहादुर गुरूङद्वारा हस्ताक्षरित विज्ञप्ती बुझाउन गुरूङसहित युवा संघ लमजुङका पदाधिकारीहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।