बेसीशहर, पुस २६ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान गर्नका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु पर्ने बताएका छन् ।
लमजुङ उद्योग वाणिज्य सङ्घकाे ४८ औँ स्थापना दिवस एवं वार्षिक साधारणसभा तथा अधिवेशनको बिहीबार बेसीशहरमा उद्घाटन गर्दै अध्यक्ष ढकालले देशमा ब्यप्त समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकाे बताए ।
साधारण सभामा मुख्य अतिथिकाे रूपमा बाेल्दै अध्यक्ष ढकालले महासंघकाे पहिलाे प्राथामिकता देशकाे आर्थिक समस्या समाधान गर्नु हाे भन्दै उनले याे समस्या समाधानका लागि महासंघले सक्दाे काेसिस गरिरहेकाे बताए । उनले देशकाे आर्थिक समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले बनाएका योजनालाई संयुक्तरूपमा कार्यान्वयनमा ल्याएर समाधानकाे बाटाे पहिल्याउनु पर्नेमा जाेड दिए ।

अध्यक्ष ढकालले काेभिडपछिकाे समय नेपाली ब्यवसायीहरूले निकै अप्ठेराे परिस्थितकाे सामना गर्दै आएकाे भन्दै अबका दिन पहिले जस्ताे अप्ठेराे अवस्था नरहेकाे बताए । हाल बैंक तथा वित्तिय संस्थाहरूले ऋणकाे ब्याज घटाउन थालेकाले ब्यवसायीहरूलाइ राहत मिल्ने बताए । अध्यक्ष ढकालले लमजुङ जिल्ला कृषि, पर्यटन र जलस्रोतमा धेरै सम्भावना बाेकेकाे जिल्ला भन्दै यसकाे समुचित उपयाेग हुन सके लमजुङका विकासमा ठूलाे टेवा पुग्ने बताए । प्रकृति र प्राकृतिक श्राेत साधनलाइ उपयाेगमा ल्याउने कार्यमा लमजुङका उद्याेगी ब्यवसायीहरू सफल हुने विश्वास व्यक्त गर्दै अध्यक्ष ढकालले पूँजी र प्रविधिको व्यवस्थापन र लगानीको वातावरण मिलाउन नेपाल उद्योग वाणिज्य महासङ्घले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
लमजुङ उद्याेग बाणिज्य संघमा सर्वसम्म नेतृत्व चयन भएकामा खुशी ब्यक्त गर्दै ढकालले संघकाे नयाँ समितिलाइ एकताबद्ध भएर उद्याेगी ब्यवसायीकाे हितमा काम गर्न आग्रह गरे ।

कार्यक्रममा आगामी कार्यकालका लागि भरतकुमार श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएकाे घाेषणा गरिएकाे थियाे । संघकाे प्रथम उपाध्यक्षमा विकास श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कृष्णजंग गुरूङ, तृतीय उपाध्यक्षमा प्रदीप बस्नेत र सदस्यहरूमा बिपिन श्रेष्ठ, मानकृष्ण आचार्य, भरतबहादुर विष्ट, भवानी रिमाल र पुष्पकला मिश्र चयन भएका साे अवसरमा घाेषणा गरियाे । संघमा वस्तुगत संघ र एशाेसियटबाट १ जना र महिला उद्यमी विकास समितिकाे १ जनासमेत कार्यसमितिमा सहभागिता रहने ब्यवस्था छ ।
ब्यवसायीक हकहितका लागि काम गर्नु पर्ने संस्थामा नेतृत्व हत्याउनका लागि अस्वस्थ प्रतिस्पर्धा हुने र राजनीति हावी हुँदा संघकाे मर्म र भावना अनुसार काम हुन नसकेकाे बेला सर्वसम्मत नयाँ नेतृत्व चयन चयन भएकामा कार्यक्रममा सबैले सरहना गरेका थिए ।
साधारणसभा लमजुङ उद्याेग बाणिज्य संघका अध्यक्ष गुणराज सिलवालकाे अध्यक्षतामा भएकाे थियाे ।