तल्लो न्यादी जलविद्युत आयोजनाले स्थानीय बासीन्दालाई संस्थापक शेयर दिने

खबरकुञ्ज

बेसीशहर, जेठ २० गते । लमजुङको मर्स्याङदी गाउँपालिकामा निर्माण हुन लागेको तल्लो न्यादी जलविद्युत आयोजनाले स्थानीय बासीन्दालाई संस्थापक शेयर दिने भएको छ ।

आयोजनाको प्रबद्र्धक हब पावर प्रा. लि.ले १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । यो परियोजना लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा प्रस्ताव गरिएको छ ।

आयोजनाले मर्स्याङदी गाउँपालिकासंग भएको सहमति अनुसार प्रभावित क्षेत्रमा पर्ने मस्र्याङदी गाउँपालिकाको वडा नं. ६, ७ र ३ का स्थानीयलाई संस्थापक शेयरका लागि प्रस्ताव गरेको हो ।  

पालिका र कम्पनीबीच गत जेठ १३ गते स्थानीय प्रभावित तीन वडाका स्थानीयलाई संस्थापक शेयर दिने सहमति भए अनुसार प्रबद्र्धक कम्पनी हव पावरको जेठ १६ मा सम्पन्न सञ्चालक समितिको वैठकले आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई संस्थापक शेयर लगानी गर्न अवसर दिने निर्णय गरेको थियो । 

सहमति अनुसार प्रबद्र्धक कम्पनीले यही जेठ १८ गतेदेखि लागू हुने गरी १० दिन भित्र स्थानीयलाई संस्थापक शेयरका लागि आवेदन दिन सूचना जारी गरेको छ । सूचना अनुसार प्रभावित क्षेत्रका ईच्छुक स्थानीयले प्रति परिवार एक ब्यक्तिले न्यूनतम १ लाख रुपैयाँ संस्थापक शेयरका लागि आवेदन गर्न पाउने छन् । आवेदन दिनका लागि ग्लोबल आईएमई बैंक लि. मा रहेको खातामा रकम जम्मा गर्न कम्पनीले सूचना जारी गरेको हो ।

तल्लो न्यादी जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भइ विद्युत विकास विभागबाट निर्माण इजाजतपत्र प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाइएको छ।

विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गरी परियोजनाको निर्माण र सञ्चालनको क्रममा कुनै प्रतिकूल प्रभाव परेमा सरोकारवालाहरूलाई लिखित सुझाव दिन अनुरोध गरेको छ।

यो आयोजना ’नदीको बहाव’मा आधारित आयोजना हो । यसको डिजाइन प्रवाह प्रति सेकेन्ड १२.५६ घन मिटर र हेड १२८.७५ मिटर हुने बताइएको छ। यो आयोजनाले वार्षिक ७७.६६८ गिगावाट घण्टा बिजुली उत्पादन गर्ने पनि जनाइएको छ ।

आयोजनाले जनाए अनुसार परियोजनाको मुख्य संरचनाहरू ङादी नदीको बायाँ किनारमा र हेडवर्कस् मर्स्याङदी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा निर्माण गरिनेछ। 

यस आयोजनाबाट उत्पादित १३२ केभी प्रसारण लाइन मार्फत ४ टाढा मर्स्याङदी गाउँपालिकाको वडा नंं ३ टारीकुनामा रहेको नेपाल विद्युत प्राधिकरणको विद्युत सबस्टेशनमा जडान गरिने छ।

प्रतिक्रिया