मन्त्री पृथ्बीसुब्बा गुरुङलाई जिल्लाबासीको सम्मान ग्रहण गर्न भ्याइ नभ्याई

मिलन शर्मा दनाई

बेसीशहर, साउन १३ गते । गत असार अन्तिममा नेपाली कांग्रेससंगको गठबन्धनमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उनको मन्त्री मण्डलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ अहिले गृह जिल्ला लमजुङमा छन् ।

मन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला लमजुङ आएका मन्त्री गुरुङलाई अहिले जिल्लाबासीको सम्मान ग्रहण गर्न भ्याइ नभ्याई छ । नेकपा एमाले निकटको युवा संगठन युवा संघ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्न पोखरा हुँदै लमजुङ प्रवेश गरेका उनलाई लमजुङ प्रवेश गर्नासाथ भोर्लेटारमा स्थानीयले छोपिहाले ।

मध्यपहाडी राजमार्ग अन्तर्गत कास्कीको बेगनासताल, तालबेसी, सर्गबास, स्यास्त्री हुँदै लमजुङको करापुटार प्रवेश गरेका उनलाई भोर्लेटारमा नेकपा एमाले भोर्लेटार नगर कमिटीले शुभकामना तथा बधाई दिने कार्यक्रम आयोजना गरेको थियो ।


भोर्लेटारबाट सुन्दरबजार हुँदै बेसीशहर आइपुगेका उनको सम्मानमा शनिबार र आईतबार समेत बधाइ तथा शुभकामना दिनेहरुको भीड रह्यो । संस्थागत रुपमा र ब्यक्तिगत रुपमा उनलाई भेटेर बधाइ दिनेहरुको लर्को रह्यो ।

पृथ्वी सुब्बालाई शनिबार बेंसीशहरमा क्व्होलासोथार ४, भुजुङ साथै छिमेकी गाउँका वासिन्दाले बधाइ दिँदै सम्मान गरे । शनिबार नै बेंसीशहरको शेराबजारमा रहेको प्रकृति नारी समाजले पनि उनलाई बधाई दिँदै सम्मान कार्यक्रम आयोजना गर्यो ।


यस्तै, क्व्होलासोथार गाउँपालिका ३, घलेगाउँ, बगुम, वडा नं. १, बाग्लुङपानी, रापसिङ, कपुरगाउँ लगायत गुरुङ समुदायका नागरिकहरुले उनलाई भेटेर बधाई दिनुका साथै सम्मान कार्यक्रम आयोजना गरे । 

आइतबार पनि मन्त्री गुरुङहरुलाई सम्मान गर्नेहरुको कमी भएन । प्रेस चौतारी नेपालले उनको सम्मानमा बिहान बधाइ तथा सम्मान कार्यक्रम आयोजना गरी पत्रकार सम्मेलन नै आयोजना गरेको थियो । 

त्यसैगरि नेकपा एमाले जिल्ला कमटि लमजुङले समेत सोही समारोहमा मन्त्री गुरुङलाई सम्मान गर्दै बधाइ तथा शुभकामना टक्र्याएको छ । लामो समयसम्म जिल्ला कमिटीका सचिव रही लमजुङमा बामपन्थी आन्दोलनको नेतृत्व गरी संगठन विस्तारमा भूमिका खेलेका आफ्ना प्रिय नेताको सम्मानमा बधाइ र शुभकामना दिन सयौं एमाले कार्यकर्ता सो अवसरमा जम्मा भएका थिए ।

साेही अबसरमा लमजुङ उद्याेग बाणिज्य संघ, नेपाल उद्याेग ब्यापार महासंघ, नेकपा एमाले बेसीशहर नगर कमिटी, घरेलु तथा साना उद्याेग महासंघ, नेपाल तामाङ घेदुङ लमजुङसहित विभिन्न महिला समूह, बाबा समूहले समेत मन्त्री गुरूङलाइ सम्मान गर्दै खादा, माला, पगरी लगाउँदै सम्मान गरे ।


बधाई र सम्मान कार्यक्रममा पुगेका अधिकांश नेता कार्यकर्ताका साथै आम नागरिकहरुले उनीसंग जिल्लाको विकास निर्माणको कार्यमा सहयोग गर्न अनुरोध गरे । कतिले त भौतिक पूर्वाधार मन्त्री बनेको भए लमजुङले विकासमा फड्को माथ्र्यो नि ! सम्म भने । यद्यपी मन्त्री गुरुङले जिल्लाको विकास निर्माणका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।


लामो समयसम्म केन्द्रीय सरकारको मन्त्री नपाएको लमजुङले अहिले संघीय सरकारमा मन्त्री पाएको छ । लमजुङका जनताले ठूलै आशा भरोस गराएर प्रतिनिधि सभा सदस्यमा जिताएका गुरुङ केपी शर्मा ओली नेतृत्वको सरकारमा वरीष्ठ मन्त्री छन् । उनी मन्त्रीमण्डलमा चौथो बरियतामा छन् । उनीमाथि प्रधानमन्त्री ओली, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकासमान सिंह र अर्थमन्त्री विष्णु पौडेल मात्र छन् । 

२२ सदस्यीय मन्त्रीमण्डलमा चौथो बरियतामा लमजुङबासीले मन्त्री पाउनु पनि ठूलो कुरा हो । बहुदल आएपछि लमजुङले दुई पटक मात्र मन्त्री पाएकोमा दुवै पटक गुरुङ मन्त्री भए । पहिलो पटक २०६३ मा बनेको अन्तरिम मन्त्रीपरिषदमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएका गुरुङ अहिले सूचना प्रविधि तथा सञ्चार मन्त्री बनेका छन् ।

लमजुङको क्व्होलासोथार गाउँपालिका ९, गिलुङ टक्सार घर भएका उहाँ २०७४ सालको निर्वाचनमा लमजुङ प्रदेश (ख) बाट निर्वाचित भई  गण्डकी प्रदेश सभाको पहिलो मुख्यमन्त्री समेत बन्ने सौभाग्य पाए । मुख्यमन्त्री हुँदा सिंगो प्रदेशसंगै लमजुङको विकासका लागि उनले गरेको प्रयासको सरहना हुने गरेको छ ।


प्रतिक्रिया