मर्स्याङदी करिडोरको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

खबरकुञ्ज

बेसीशहर, बैशाख २९ गते । मनाङ, लमजुङ, तनहूँ र गोरखा हुँदै बहने मर्स्याङदी नदी करिडोरमा पर्ने स्थानीय तहहरुको एक प्रतिनिधि मण्डलले समग्र मस्र्याङदी करिडोरको विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ ।

मर्स्याङदी कोरिडोर भित्र पर्ने नौ वटा स्थानीय तहहरु मिलेर बनेको मर्स्याङदी कोरिडोर अन्तरपालिका समन्वय समितिले वैशाख २७ गते प्रधानमन्त्री दाहाललाई मस्र्याङदी उपत्यकाको विकासका लागि तयार पारिएको अबधारणापत्र पेश गरेको हो ।

यस करिडोरका स्थानीय तहहरुको दिगो र सन्तुलित विकास, आर्थिक, सामाजिक, साँस्कृतिक शैक्षिक तथा भौगोलिक विकासका लागि विद्यमान सम्भावना र चुनौतिहरुको सामुहिक अभ्यास गरि नतिजा हासिल गर्न नौवटा स्थानीय तहहरु मिलेर  मर्स्याङदी कोरिडोर समन्वय समिति गठन गरिएको प्रधानमन्त्रीलाई जानकारी गराइएको थियो ।

अर्थमन्त्री बर्षमान पुनको समेत सहभागिता रहेको उक्त भेटमा यस क्षेत्रका साझा चुनौती र सम्भावनाहरुको वस्तुगत विश्‍लेषण गरि सामुहिक उद्देश्य प्राप्त गर्न समय समयमा अन्तरपालिका समन्वयत्मक छलफल, अन्तरक्रिया र बैठकहरुको आयोजना भइरहेकोे ,समग्र मर्स्याङदी उपत्यकाको समुचित विकास र वृहत्तर हितका लागि यस क्षेत्रका स्थानीय तहहरुको सामुहिक निणर्यले केही महत्वपूणर् विकासका नतिजामुखी योजनालाई रणनितिक महत्वका साथ प्राथमिकतामा राखिएको, मानवपूँजीको निर्माण गर्ने सन्दर्भमा तनहुँ, लम्जुङ्ग, गोरखा र मनाङ जिल्लाका नागरिकहरुका लागि गुणस्तरीय विशिष्टिकृत सेवा सहितको सुविधा सम्पन्‍न अस्पताल एवं शिक्षण अस्पतालको अभाव भएको, आर्थिक विकासको दृष्टिकोणबाट सम्भावना बोकेको ‍औद्योगिक कोरिडोरको स्थापना र विकासका लागि प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्राकृतिक सौन्दर्यताको अनुपम क्षेत्र पर्यटकीय दृष्टिकोणबाट राष्ट्रकै उत्कृष्ट गन्तव्यहरुको सूचीमा परेको मर्स्याङदी कोरिडोर ,पर्यटन पूर्वाधार तथा पर्यटन प्रबद्र्धन समेत यस उपत्यकाको परिवर्तन गर्ने पर्यायको रुपमा अनुभूत गरिएको बारेमा समेत समितिले प्रधानमन्त्रीलाई अवगत गराएको छ ।

आर्थिक वर्ष २०८१/०८२ का लागि संघीय योजना तर्जुमा गर्ने चरणहरु प्रारम्भ भई रहेको सन्दर्भमा मर्स्याङदी उपत्यकाको विकासका लागि संघीय सरकारबाटै आवश्यक योजना र बजेटका लागि ध्यानाकर्षण सहित दवाव दिनका लागि प्रतिनिधि मण्डलले प्रधानमन्त्रीसंग भेट गरी माग राखेको हो । भेटमा प्रतिनिधि मण्डलले करिडोरका ९ वटा स्थानीय तहहरुमा बसोबास गर्ने झण्डै चार लाख नागरिकको प्रत्यक्ष सरोकार तथा कोरिडोर क्षेत्रको सन्तुलित विकासका लागि प्रतिफलमूखी आयोजना र परियोजनाका लागि संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षण पत्रमा मादी-मर्स्याङदी कोरिडोर लम्जुंग, गोरखा, तनहूँ, मनाङ हुँदै गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मोटर मार्ग, डुम्रे-वेसीशहर-चामे सडकको स्तरोन्नति तथा बाँकी खण्ड निर्माण, मस्र्याङ्दी नदीमा मोटरेबल पुल, भानु साहित्य उद्यान निर्माण, पालुङ्गटार विमानस्थल निर्माण तथा पुनःसंचालन, विद्युत सब-स्टेशन निर्माण, सुविधा सम्पन्न बहुमुखी क्याम्पस स्थापना, बन्दिपुर-छिम्केश्वरी-भानु जन्मस्थल सडक, लिगलिगकोट-राइनसकोट दोर्दी भीम पोखरा-धारापानी-मनाङ्ग-थोरोङ्गपास हुँदै मुस्ताङ्ग मार्ग र राष्ट्रीय मापदण्ड अनुरूपको सुविधासम्पन्न रंगशाला निर्माण लगायतका कार्यक्रमको माग समितिले प्रधानमन्त्रीसंग राखेको छ ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले समितिले पेश गरेकामध्ये नियमित तर्फको कार्यक्रमलाई पूणर्ता दिने र नयाँ कार्यक्रमहरुलाई प्राथमिकताका आधारमा संभव भए सम्म सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।


भेटघाटका क्रममा भानु नगरपालिका तनहूँका मेयर एवं मर्स्याङदी कोरिडोर अन्तरपालिका समन्वय समितिका अध्यक्ष आनन्द राज त्रिपाठीले मागपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा  बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, सुन्दरबजार नगरपालिकाका मेयर कृष्ण प्रसाद कोइराला, राईनास नगरपालिकाका मेयर खडकबहादुर गुरुङ, पालुङटार नगरपालिकाका मेयर विवश चिन्तन, मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी लगायतको सहभागिता थियो ।

सो अवसरमा समितिको तर्फबाट अध्यक्ष त्रिपाठीले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई बिर्के टोपी लगाइ दिएका थिए ।

प्रतिक्रिया