विश्व हिन्दू महासंघ गण्डकीकाे अधिवेशनः नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गराउने दृढता

बेसीशहर, बैशाख १५ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक शंकर भण्डारीले हिन्दू धर्म सबै धर्म भन्दा पुरानो र बैज्ञानिक रहेको भन्दै विश्वभरका हिन्दहरु मिलेर वैदिक धर्म, दर्शन, संस्कृति र आयुर्वेदिक पद्दतिको संरक्षणमा जुट्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

विश्व हिन्दू महासंघ गण्डकी प्रदेश अधिवेशनको शनिबार बेसीशहरमा उद्घाटन गर्दै भण्डारीले ९४ प्रतिशतभन्दा बढी जनताको आस्था, विश्वास र भावनालाई उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरु, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी आकस्मिक अदूरदर्शी, अविवेकी र अपारदर्शी ढंगले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएकोमा पुनः असन्तुष्टि जनाए ।

नेपाली कांग्रेस जस्तो पार्टीसमेत धर्म निरपेक्षताको मतियार बनेकोमा असन्तुष्टि जनाउँदै उक्त कार्य नैतिक एवम् राजनीतिक दृष्टिले पनि अनुचित र त्रुटिपूणर् भएकाले त्यसलाई सच्याएर नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गराउन आफूहरु लागिपरेको बताए ।

उनले हिन्दूरुलाई जागृत गराउन ढिला भइसकेको भन्दै हिन्दू धर्मशास्त्रका कुरा बुझाएर धर्मान्तरणको क्रमलाई निस्तेज गर्नुपर्ने आवश्यकता औंल्याए । उनले सच्चाइको नाममा भ्रम फैलाएर हिन्दूहरुलाई भ्रमित पारिएको भन्दै आपत्ती जनाए ।

हिन्दू धर्मलाई जगाउन, हिन्दूहरुलाई एकसुत्रमा बाध्न, वैदिक धर्म दर्शनको बारेमा बुझाउन आफूहरुल्े  अभियानको थालनी गरेको भन्दै उनले सनातन हिन्दू राष्ट्र स्थापनाका लागि अभियान चलाउनु पर्नेमा जोड दिए ।

साधारण सभामा विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारी, गण्डकी प्रदेश सभाका सदस्य एवं नेपाली कांग्रेस लमजुङका सभापति टकराज गुरुङ, गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेल, नेकपा एमाले लमजुङका सचिव राजेन्द्र बोहरा, विश्व हिन्दू महासंघ गण्डकी प्रदेशका पूर्व अध्यक्ष शंकर खराल, जिल्ला अध्यक्ष शालीग्राम अधिकारी लगायतले मन्तब्य राखेका थिए । 

साधारणसभा शुरु हुनु अघि एक हिन्दू धर्म संस्कृति झल्कने विविध झाँकीसहितको बिशाल र्‍यालीले बेसीशहर बजार परिक्रमा गरेको थियो ।


विश्व हिन्दू महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष मुक्तिराम अधिकारीको अध्यक्षतामा भएको साधारण सभा एवं अधिवेशनले प्रदेश सचिवमा  कास्कीका डिल्लीराम भट्टराई, सहसचिवमा कास्कीका हरिश्चन्द्र भण्डारी र नवलपुरकादेवेन्द्र प्रसाद शर्मा, कोषाध्यक्षमा  नवलपुरका लेखनाथ तिवारी, सहकोषाध्यक्षमा पर्वतका ज्ञानुकुमारी शर्मा र स्याङजाका गोविन्दप्रसाद पंगेनीलाई चयन गरेको छ ।

प्रदेश समितिका सदस्यहरुमा योगप्रसाद शर्मा(नवलपुर), भरतबहादुर कुँवर (कास्की),जगत सापकोटा(पर्वत), भूवनाथ गौडेल रेग्मी(पर्वत), सम्झना लगुन(नवलपुर), राधिका रोका क्षेत्री(पर्वत), सरस्वती पौडेल(तनहूँ), खगराज शर्मा(म्याग्दी),प्रियकुमारी भण्डारी(म्याग्दी) सिताराम अधिकारी(स्याङजा),खगराज भट्टराई(स्याङजा),रामप्रसाद पण्डित(लमजुङ), यमुना केसी(स्याङजा), अमृता घिमिरे(लमजुङ), सूर्यप्रसाद घिमिरे(लमजुङ), सोमराज बराल(लमजुङ), रामजी प्रसाद बराल(कास्की), शिव बराल(कास्की), घना दनाई(लमजुङ) र पुष्पानन्द गिरी(पर्वत) रहेका छन् ।

प्रदेश समितिको अध्यक्षमा मुक्तिराम अधिकारी र उपाध्यक्षद्वयमा सकुन्तला कोइराला र केदारनाथ पौडेल अघिल्लो बर्ष नै चयन भइसकेका छन् ।

साधारणसभा एवं अधिवेशन अन्तर्गत शुक्रवार स्वागत तथा परिचयात्मक कार्यक्रम भएको थियो । कार्यक्रम लमजुङका जिल्ला अध्यक्ष शालिग्राम अधिकारीको अध्यक्षता एवं विश्व हिन्द्र महासंघ राष्ट्रिय समितिका केन्द्रिय अध्यक्ष डा.रामचन्द्र अधिकारीको प्रमुख अतिथ्यतामा भएको थियो ।

अधिवेशनका लागि महासंघ गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्लाका प्रतिनिधिहरु शुक्रबार नै बेसीशहर आएका थिए ।

प्रतिक्रिया