लमजुङ कृषि क्याम्पसमा विद्यार्थीबीच झडप, १५ घाइते, ४ काे अवस्था गम्भीर

बेसीशहर, माघ २७ । लमजुङको सुन्दरबजारमा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा १५ जना विद्यार्थी घाइते भएका छन् । 

घाइते विद्यार्थीहरुलाई तत्काल उपचारका लागि नमूना सामुदायिक अस्पताल सुन्दरबजारमा लगिएकोमा ४ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रिफर गरिएको छ । रिफर भएका विद्यार्थीहरुमा मदन रिजाल, वेदान्त घिमिरे, विराज सुवेदी र टीकाराम ढकाल रहेका छन् । उनीहरुमध्ये २ जनालाई पोखरा र २ जनालाई चितवन उपचारार्थ पठाइएको र अन्यको अवस्था सामान्य रहेको निमित्त क्याम्पस प्रमुख अमित खनालले जानकारी दिए ।

खनालका अनुसार झडपमा परी घाइते हुनेमा सबै अनेरास्ववियू समर्थित विद्यार्थीहरु रहेका छन् ।

निमित्त प्रमुख खनालका अनुसार लमजुङ क्याम्पसमा अध्ययनरत नेविसंघ र अनेरास्ववियूका विद्यार्थीबीच शनिबार बिहान ११.३० बजे झडप भएको थियो । क्याम्पसमा अध्ययन गर्न आएका नयाँ विद्यार्थीहरुलाई आफ्नो संगठनमा तान्न हानथाप हुँदा दुई संगठनका विद्यार्थीबीच झडप भएको निमित्त क्याम्पस प्रमुख खनालले जानकारी दिए । 

उनका अनुसार घाइते हुनेमा छैटौँ र सातौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु रहेका छन् ।

लमजुङ क्याम्पसमा अध्यनका लागि आउने नयाँ विद्यार्थीहरुलाई आफ्नो संगठनमा तान्ने होडबाजीमा हरेक बर्ष विद्यार्थी संगठनहरुबीच झडप हुने गरेको छ । शनिबारको झडपसमेत सोही कारण भएको बुझिएको छ ।

क्याम्पसमा झडप भइ विद्यार्थीहरु घाइते भएपछि क्याम्पसले छात्रहरुको छात्राबास खाली गराएको छ । छात्रबास खाली गराउन क्याम्पस प्रशासनले सूचना नै जारी गरेको थियो । पछि प्रहरीसमेतको सहयोगमा छात्राबास खाली गराइएको हो । घटनापछि लमजुङका प्रहरी नायव उपरीषक मिनबहादुर घले प्रहरी टोली लिएर स्वयं क्याम्पसमा पुगेका थिए ।

झडप भएपछि लमजुङ क्याम्पसमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । अहिले क्याम्पसको अवस्था सामान्य रहे पनि विद्यार्थीहरुबीच पुनः झडप हुन सक्ने सम्भावनालाई ख्याल राख्दै सुरक्षा ब्यवस्था कडा पारिएको क्याम्पस प्रशासनले जनाएकाे छ ।

क्याम्पसको झडपले केही दिन क्याम्पसको पठन पाठनसमेत प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया