बेसीशहर, पुस २० । लमजुङकाे बेसीशहर युथ साेसाइटी र लालीगुराँस युवा क्लब भुजुङ बेसीशहरमा जारी ३१ औं संस्करणकाे त्रिवेणी कपकाे फाइनलमा उपाधिका लागि भिड्ने भएका छन् ।
बेसीशहरकाे त्रिवेणी रंगशालामा शुक्रबार भएकाे सेमिफाइनल खेलमा लाङ्दीदेवी युवा क्लव नाल्मालाइ २–१ गाेल अन्तरले हराउँदै बेसीशहर युथ साेसाइटी र नबलपुरकाे अभिषेक चर्च एफसीलाइ २–१ ले पराजित गर्दै लालीगुराँस युवा क्लव भुजुङ फाइनलमा प्रवेश गरेका हुन् ।
शुक्रबारकाे दाेस्राे खेलमा लाङ्दी देवी विरूद्ध बेसीशहर युथ साेसाइटीले आश्चर्यजनक जीत निकाल्याे । साेसाइटीले खेलकाे पहिलाे हापकाे १७ मिनेटमै सुसाइड गाेल खायाे । सेन्टरलाइनबाट लाङ्दीदेबीका खेलाडी जर्सी नंं ९ का एन्जल महर्जनले हेड गरेकाे बल डिबक्स नजिकै पुग्दा नाल्माका खेलाडी जर्सी नं. ७७ का प्रदिप लामाले पाेष्टतर्फ चार्ज गर्नै लाग्दा बेसीशहरका खेलाडी जर्सी नं. 23 का फ्रेंकलिन तल्लाहले राेक्दै छेक्दै गर्दा जर्सी नंं ४५ का खेलाडी नरेन्द्र चाैधरीले बाहिर चार्ज गर्न पुगे । बेसीशहरका गाेलरक्षक टेकेन्द्र थापा बल समात्न अघि बढेकै बेला नरेन्द्रले चार्ज गरेकाे बल नाल्माका खेलाडी एन्जलकाे खुट्टामा लागेर पाेष्टभित्र छिर्याे ।
खेलमा नाल्माले बेसीशहरलाइ निकै दबाबमा राख्याे । तर टीमलाइ अग्रता दिलाइरहन सकेन । पहिलाे हापकाे ३१ मिनेटमै बेसीशहरले लाङ्दीका बिरूद्ध गाेल फर्काएर खेललाइ लयमा फर्कायाे । बेसीशहरले पाएकाे थ्राेलाइ फ्रेंकलिन तल्लाहले नाल्माकाे पाेष्टमा फालेकामा नाल्माका क्याप्टेन अाशिष गुरूङले हेड गरेर डिबक्स बाहिर फाले । डिबक्स बाहिर रहेका बेसीशहरका खेलाडी जर्सी नंं ११ का आशिष चाैधरीले सिधै नाल्माकाे पाेष्टमा चार्ज गरे र त्यही बल गएर जाली चुम्न पुग्याे ।
दाेस्राे हापकाे निर्धारित समयभर खेल १–१ गाेलकाे बराबरीमा रह्याे । दुवै पक्षले गाेल गर्ने थुप्रै प्रयास गरे पनि सफल हुन सकेनन् । अन्ततः १४ मिनेट समय थप गरियाे । थप गरिएकाे समयकाे दाेस्राे मिनेटमै सेन्टरबाट कान्छा गुरूङले दिएकाे पासलाइ सदुपयाेग गर्दै आशिष चाैधरीले बेसीशहरका लागि दाेस्राे तर निर्णायक गाेल गरे ।
खेलमा बेसीशहरका भन्दा नाल्मा खेलाडीले राम्राे खेल खेलेका थिए । अधिकांश दर्शकले पनि यस्तै महशुस गरेका थिए, बेसीशहरका लागि २ गाेल गर्न सफल आशिष चाैधरीले पनि याे स्वीकार गरे । तर खेल राम्राे हुँदा हुँदै पनि नाल्माका खेलाडीले टीमलाइ जीत दिलाउन सफल भएनन् ।