जाजरकाेट भुकम्पः ८० जना भन्दा बढीकाे मृत्यु, उद्दार जारी, घाइते र मृतककाे संख्या बढ्न सक्ने

बेसीशहर । गएराती मध्यरात जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी ८० जना भन्दा बढीका ज्यान गएकाे खबर छ । भुकम्पमा परी घाइत हुनेहरूकाे संख्या बढिरहेकाे छ ।

शुक्रबार राती ११.४८ मा गएकाे ६.४ म्याग्निच्युटकाे भुकम्पले जाजरकाेट र रूकुम पश्चिममा मात्रै सयाैं घर भत्केका छन् । भत्केका घरमा धेरै जना पुरिएकाे र उनीहरूकाे रातीदेखि नै उद्दार भइरहेकाे स्थानीय प्रहरीले जानकारी दिएका छन् । अहिलेसम्म करीब १ सय ५० जनाकाे हाराहारीमा घाइते भएकाे खबर छ । घाइतेहरूलाइ उपचारका लागि स्थानीय स्वास्थ्य चाैकी, अस्पताल तथा प्रदेश अस्पताल सुर्खेतमा पठाइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएकाे जानकारी अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ । त्यहाँकाे  भेरी नगरपालिकामा ३०, नलगाड नगरपालिकामा ६, कुशे गउँपालिकामा ७ र छेडागाड नगरपालिकाका १ जनाकाे मृत्युकाे खबर प्रहरीले पुष्टि गरेकाे छ ।

जाजरकाेटमा स्थानीय नलगाड नगरपालिकाका उपमेयर सरिता सिंहको गएरातीकाे भुइँचालाेमा परी मृत्यु भएको छ। सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिएका छन् । घर भत्केर पुरिएर घाइते भएपछि उपचारका लागि लैजादै गर्दा उनकाे बाटाेमै मृत्यु भएकाे बताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख डिएसपी नमराज भट्टराइले उक्त जिल्लामा ३६ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे जानकारी दिएका छन् । जाजरकोटसँग सीमा जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले जानकारी दिए । रुकुम पश्चिममा भूकम्पमा परी सय जना भन्दा बढी घाइते भएका छन् । 

अहिले भुकम्प प्रभावित क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीय निकाय, प्रशासन उद्धारमा जुटेकाे छ ।  केही चिन्ताजनक अवस्थाका घाइतेहरूको उद्धार गरी हेलिकाेप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेकाे छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भुकम्प प्रभावित क्षेत्रमा भएकाे क्षतिबारे बुझ्न केहीबेर अघि त्यसतर्फ प्रस्थान गरेका छन् ।

गएराती मध्यरात गएकाे भुकम्पकाे धक्का देशभर महशुस गरिएकाे थियाे ।


प्रतिक्रिया