उदीपुर सडक खण्डकाे नियतिः सुकिदे गाँड भन्दा थपिदे गाँड

मिलन शर्मा दनाई

बेसीशहर, साउन २५ । डुम्रे बेसीशहर चामे सडक अन्तर्गत लमजुङको उदीपुर खण्ड यात्रुहरुका लागि टाउको दुखाइ बन्न थालेको छ । तीनबर्षदेखि देउरालीडाँडाकाे  पहिराे नियन्त्रणकाे काम चलिरहेकाेमा त्याे नसकिँदै थप तीनठाउँमा समस्या शुरू भएपछि सुकिदे गाँड भन्दा थपिदे गाँडकाे नियति भाेग्न लमजुङबासी बाध्य छन् ।

तीन बर्ष अघि २०७८ भदौ १२ गते उदीपुरको देउराली डाँडामा गएको ठूलो पहिरो रोकथामको काम नसकिँदै सोही पहिरोको छेउ, अँधेरी खोला र उदीपुरस्थित नेपाली सेनाको ब्यारेक अगाडि आउने पहिरो र भलबाढीले यात्रुहरुले निकै सास्ती भाेग्नु परेकाे छ । रातीकाे बेला बाढी र पहिराेले सडक अबरूद्ध हुँदा कहिलेकाहिँ यात्रुहरूको विचल्ली नै हुने गरेको छ ।

ब्यारेक अगाडि र अँधेरी खोलामा विगतमा भारी बर्षा हुँदा समेत भल बाढी आइ सडक अबरुद्ध हुने गरेको थिएन । तर यस बर्ष भने बर्षातको शुरुवातदेखि नै सामान्य पानी पर्दा समेत सडक अबरुद्ध हुने गरेको छ । पछिल्लो पटक गएरातीसमेत अँधेरीखोला र ब्यारेक अगाडि भलबाढीले सडक अबरुद्ध हुँदा सयौं यात्रुहरुको विचल्ली भयो । यस्ताे समस्या अहिले दिनहूँ यात्रुले भाेगिरहेका छन् ।


उदीपुरको ब्यारेक अगाडि जंगलबाट आउने भलले यात्रु, सवारी साधन र सडक विभागलाई पनि सास्ती दिएको छ । दिनभर डोजर लगाएर सडक सफा गरेको सडकमा सामान्य बर्षातले समेत पुनः लेदोसहितको गेग्र्यान सडकमा थुपारिदने गरेको छ ।

अँधेरी खोलामा आउने बाढीले सडक नै जोखिममा परेको छ । सडकमाथिबाट आउने गेग्र्यान र ठूला ठूला ढुंगासहितको बाढी र पहिरोले सडकमा क्षति पु¥याएको हो । यसबाहेक सडक भन्दा मुनी रहेको नेपाली सेनाको चण्डीप्रसाद गणको ब्यारेक र विद्युत प्राधिकरणकाे निर्माणाधीन  उदीपुर सबस्टेशन समेत जोखिममा परेको छ । बाढी र पहिरोले सडक भत्काउन र सडक मुनिको जमीन भासिना थालेपछि डुम्रे बेसीशहर चामे सडक योजनाले सडकको तल्लो भागबाट ग्याविन जाली लगाउन थालेको छ । 

यता ब्यारेक गेटमा आउने बाढीले त्यहाँका दुईवटा घरमा क्षति पुगेको छ । दुईमध्ये एक घरमा बाढी पसेर घर बस्नै नसक्ने गरी क्षतिग्रस्त भएको छ । अर्को घरमा कम क्षति भए पनि बाढी र पहिरोले जुनसुकै बेला पनि जनधनको क्षति हुन सक्ने अवस्था रहेपछि घर छोडेर हिँडेको घरधनी शिवबहादुर पाण्डेले बताए ।


उदीपुर खण्डमा सामान्य बर्षा हुँदा समेत सडक अबरुद्ध हुने अवस्था आएपछि डुम्रे बेसीशहर चामे सडक योजनाले एउटा डोजर त्यहाँ तैनाथ गरेको छ । “जुनसकै बेला पनि सडक अबरुद्ध हुने हुँदा हामीले एउटा डोजर त्यहाँ स्ट्याण्ड बाइ राखेका छौं ।”–डुम्रे बेसीशहर चामे सडक योजनाका निमित्त प्रमुख किरण पोखरेलले भने ।


पोखरेलका अनुसार उदीपुरको माथिल्लो जंगल क्षेत्रमा खनिएको स्थानीय सडकका कारण डुम्रे बेसीशहर चामे सडकको उदीपुर खण्डमा बर्षा हुँदा दैनिक जसो सडक अबरुद्ध हुने गरेको बताए । उनले भने– “सडक माथिको कच्ची सडकमा नालीको ब्यवस्थापन नहुनु र सडकको पानी खोल्सामा छोडिएका कारण अँधेरी खोला र ब्यारेक अगाडिको सडकमा अबरोध पुग्ने गरेको हो ।”

उनले भने–“अहिलेको समस्या हाम्रो बसमा छैन । देउराली डाँडामा पहिरो नियन्त्रणको काम नसकिँदै पुनः पहिरो झर्न शुरु भएको छ, यो किन भयो अध्ययन गर्नुपर्छ । तर अँधेरी खोला र ब्यारेक अगाडिको समस्या भने त्यहाँ माथि खनिएको सडकमा पानीको निकास नदिएकै कारणै हो ।”

लमजुङका अधिकांश भागमा राजमार्गसंग जोड्ने गरी जथाभावी खोलिएका सडकमा नाला निर्माण नहुँदा बर्षातका बेला भल पसेर सडकमा क्षति हुनुका साथै सडक अबरुद्ध हुने गरेको छ । सम्बन्धित निकायले यस्ता समस्याको सम्बोधन गर्नुपर्ने स्थानीय बताउँछन् ।

प्रतिक्रिया