बेसीशहर, बैशाख १४ गते । लमजुङकै प्रतिष्ठित गेटवे हिमालयन रिसोर्टसहित तीन होटल तथा रेष्टुरेण्टलाई जिल्ला प्रशासन कार्यालयले १०/१० हजार रुपैयाँ जरिवाना तिराएको छ ।
गेटवे हिमालयन सहित बेसीशहरमै रहेका र नाम चलेका बरण्डा रेष्ट्रो एण्ड इभेन्ट तथा गंगापूर्ण होटलसमेतबाट प्रशासनले जरिवाना असुल गरेको हो । अनुगमनका क्रममा ती तीनवटै होटलमा मीठा मीठा परिकार तयार हुने भान्सामा कैफियत देखिएपछि प्रशासनले जरिवाना गराएको हो । तीनवटै होटलका भान्सामा प्रयोग हुने तेल खान योग्य नभएकोर सरसफाइ समेत कमजोर रहेको भेटिएपछि जरिवाना तिराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले जानकारी दिए ।
सुयलले तीनवटै होटलमा प्रयोग भएको तेलमा लेवलिङ नभएको र उत्पादन मिति र म्याद सकिने मिति समेत उल्लेख नभएको भेटिएको र बरण्डा रेष्ट्रोबाट लेवलिङ नभएको करीब २० लिटर तेल बरामद गरी नष्ट समेत गरिएको बताए ।
सहायक प्रजिअ सुयलका अनुसार भान्सामा प्रयोग हुने तेल, सरसफाइ लगायतका विषयमा कैफियत भेटिएकाले तीनवटै होटललाई जरिवानासहित एक साताभित्र कैफियत सुधार गर्न सचेत गराइएको छ ।
गेटवे हिमालयन रिसोर्ट र बरण्डा रेष्ट्रो बेसीशहरका नाम चलेका मात्र होइन, गुणस्तरीय र महंगो होटल तथा रेष्ट्रोको रुपमा चिनिन्छन् । बेसीशहरमा हुने विवाह, जन्मदिन, बैवाहिक बर्षगाँठ आदि विभिन्न कार्यक्रमका लागि धेरैले यिनै होटल तथा रेष्ट्रो रोज्ने गर्छन् । गंगापूर्ण विदेशी पर्यटककाे राेजाइकाे हाेटल हाे ।
यहाँका परिकार बजारमा पाइने परिकार भन्दा भिन्न नभए पनि मूल्य भने बजारको भन्दा धेरै पर्ने भएकाले भिआइपीहरु जाने होटल भनेर पनि चिनिन्छन् । भिआइपीहरु जाने, स्तरीय र महंगो पर्ने भनिए पनि त्यहाँका भान्सामा भने अखाद्य पदार्थ प्रयोग हुने गरेको पाइए पछि त्यहाँ बन्ने परिकारको गुणस्तरमाथि प्रश्न उठेको छ ।
सुयलले भने–“हामी निदाएका छैनौं, मौसमी होइन, निरन्तर अनुगमन गर्दछौं । साना ठूला सबै ब्यवसायको अनुगमन गर्दछौं । उद्यम ब्यवसायको प्रबद्र्धन गरौं, सबैको सहयोगको लागि हार्दिक धन्यवाद ।”
खबरकुञ्ज