काठमाडौ, जेठ १० गते। काठमाडाैंकाे जिल्ला सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुका विरुद्ध आज अदालतमा मुद्दा दर्ता गर्ने भएकाे छ ।
याे प्रकरणमा प्रहरीले अनुसन्धान सकेर रायसहित सरकारी वकीललाइ अनुसन्धान प्रतिवेदन बुझाएकाेमा यसमा केही थपघट गरी सरकारी वकीलकाे कार्यालयले अभियोजन दर्ता गर्ने तयारी गरेकाे हाे ।
जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाली नागरिकलाइ नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम ठगी गरेको सम्बन्धमा अनुसन्धान गरी साेकाे प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।
यस प्रकरणमा प्रहरीले पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १६ जनालाइ पक्राउ गरी अनुसन्धान गरेकाे थियाे ।
यस प्रकरणमा संलग्न भएकाे भनिएका थप १७ जनासमेतलाइ प्रतिवादी बनाएर मुद्दा चलाउन रायसहित प्रहरीले प्रतिवेदन बुझाएकाे थियाे ।
प्रतिवेदनमा उनीहरू उपर ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा चलाउन सकिने राय प्रहरीले दिएकाे छ । यसबाहेक केही अभियुक्तहरूलाइ सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धानका लागि लेखि पठाउन प्रहरीले राय दिएकाे छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एक सय १३ जना पीडितहरूले अाफूहरूबाट २७ करोड ५० लाख ठगी भएको भनी प्रहरीमा उजुरी दिएका थिए ।