बेसीशहर, जेठ १९ गते । लमजुङको मर्स्याङदी गाउँपालिकाले जेठ २० गतेदेखि सप्ताहब्यापी रुपमा सफा मर्स्याङदी अभियान शुरु गर्ने भएको छ ।
गाउँपालिकालाई सरसफाईमा नमुना बनाउने उद्देश्य सहित गाउँपालिकाले हरेक बर्ष विश्व वातावरण दिवसको अवसर पारी समग्र गाउँपालिकामा एकैसाथ सफाई अभियान सञ्चालन गर्दै आएकोमा यस बर्ष पनि उक्त अभियानलाई निरन्तरता दिन लागिएको हो ।
गाउँपालिकाले विभिन्न क्षेत्रमा सरोकारवालाहरुको उपस्थितिमा एकसाथ सफाई अभियान शुरु गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । उनले गाउँपालिका अन्तर्गतका प्रत्येक गाउँ तथा टोलहरुमा फोहोर मैला व्यवस्थापन, फोहोरबाट पर्ने प्रभावको न्युनिकरण गर्न र पालिकाका प्रत्येक गाउँलाई स्वच्छ, हराभरा र सफा बनाउनका लागि सरसफाई अभियान शुरु गरिएको बताए।
उनले अभियान सफल पार्नका लागि पालिकाका सबै वडा कार्यालयहरुलाई पत्राचार गरिएको जानकारी दिए । सफा मर्स्याङदी अभियान अन्तर्गत प्रत्येक वडा तथा टोलहरुमा स्थानीय सरोकारवाला व्यक्ति, संघ सँस्था, विद्यालयहरुको संयुक्त सहभागितामा एकैसाथ सरसफाई अभियान शुरु गरिने छ । पालिकाका प्रत्येक गाउँ बस्तीहरुमा फोहोर व्यवस्थापन र प्रयोगका बारेमा सचेतनामुलक कार्यक्रम समेत अभियानका क्रममा सञ्चालन गरिने छ । यसबाहेक विभिन्न टोलहरुमा सरसफाई सम्बन्धी सचेतनामुलक अन्तरक्रिया, सरसफाई तथा फोहोर व्यवस्थापन सम्वन्धी प्रशिक्षण लगायतका कार्यक्रम गरिने छ ।
गाउँपालिकाले अभियानका लागि तालिकका नै बनाएको छ । जस अनुसार जेठ २० गते ९ वटै वडा कार्यालयहरुमा वडा भित्रका सम्पूर्ण विद्यालय, संघसंस्थाहरुका प्रमुखहरुबीच फोहोर ब्यवस्थापन र सरसफाई कार्यक्रम सम्बन्धी छलफल तथा बहसका कार्यक्रम आयोजना हुने छ । २१ गते माइकिङ गरेर सचेतनामूलक कार्यक्रम आयोजना गर्ने, २२ गते वडामा क्रियाशील सहकारी, वन समिति, युवा क्लव आमा समूहहरु लगायत अन्य संघ संस्थाहरुद्वारा सरसफाई तथा सचेतनामूलक कार्यक्रम हुनेछन् । जेठ २३ गते गाउँ कार्यपालिका, वडा कार्यालय, स्वास्थ्य चौकीहरुमा रहने जनप्रतिनिधि तथा कर्मचारीहरुले आफ्नो कार्यालय र वरपरका वस्तीहरुमा सरसफाई तथा सचेतनाका कार्यक्रम अयोजना गर्ने छन् ।
त्यस्तै जेठ २४ गते सबै टोल विकास संस्थाहरुले आफ्ना टोलहरुमा सरसफाई तथा सचेतनामूलक कार्यक्रम आयोजना गर्ने छन् । त्यस्तै २५ गते सबै विद्यालयहरुले आफ्नो विद्यालयहरुले आफ्ना विद्यालय र वरपरका वस्तीहरुमा सरसफाई तथा सचेतनामूलक कार्यक्रम आयोजना गर्नेछन् । जेठ २६ गते सम्पूणर् वडाहरुले आ-आफ्ना वडाका जनप्रतिनिधिहरु मार्फत सामाजिक अगुवाहरुको समेत सहयोग र समन्वयमा स्थलगत अनुगमनगरी सफा मर्स्याङदी अभियानको प्रभावरकारिता बारे छोटो प्रतिवेदन तयार पारि गाउँपालिकाको कार्यालयमा पेश गर्नेछन् ।

मिलन शर्मा दनाई