रेडियाे दिवसमा बेसीशहरमा अन्तरक्रिया, सामुदायिक रेडियाे बचाउनु पर्नेमा जाेड

बेसीशहर, फागुन २ । प्रविधिले जतिसुकै फड्काे मारे पनि नेपालकाे सन्दर्भमा रेडियाेहरूकाे महत्व नघटेकाे र नागरिकहरूलाइ सूचना र सन्देश प्रवाह गर्न रेडियाेकाे भूमिका अझै महत्वपूर्ण रहेकाे लमजुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।


सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति लमजुङले मंगलबार बेसीशहरमा आयोजना गरेकाे माेफसलमा  रेडियाे सञ्चालन र चुनाैति बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले माेफसलमा आर्थिक संकटका बाबजुद पनि रेडियाेहरूले खेलेकाे भूमिकाकाे सरहना गरे । उनीहरूले रेडियाेमा बिज्ञापनकाे अभावमा रेडियाेहरूकाे  आर्थिक अवस्था नाजुक भएकाे र यसकाे प्रभावमा रेडियाेकर्मीहरू समेत परेका भन्दै सामुदायिक रेडियाेलाइ बचाउनु पर्नेमा  जाेड दिए ।


विश्व रेडियो दिवसको अवसरमा आयोजना गरिएकाे अन्तरक्रियामा सहभागीहरुले आर्थिक चुनौतिसंग जुधेका रेडियाेहरूले समुदायलाइ दिएकाे याेगदानकाे सरहना गरे ।


सहभागीले सामुदायिक रेडियाेहरूले समुदायका मुद्दाहरूलाइ उठान गरी समुदायलाइ जागरूक बनाएकाले समुदायकाे पनि रेडियाेलाइ दीगाे बनाउनका लागि भूमिका हुनुपर्ने बताइयाे । रेडियोको क्षमताबृद्धि गरी उचित व्यवस्थापन गर्न सके रेडियाे सञ्चालन गर्न सहज हुने भएकाले समुदायकाे सहयाेग लिनु पर्नेमा सहभागीले जाेड दिए ।


रेडियो चौतारी सञ्चालक समिति अध्यक्ष किसान संगीत नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियाे ।


विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यमका रुपमा रेडियोलाई विकास, प्रभाव र प्रगतिको क्षेत्रमा यसले पुर्याएको योगदानलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउन  थालिएकाे हो । सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गए पनि रेडियोले आर्थिक तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भोग्नु परेको छ ।


प्रतिक्रिया