बडादशैं शुरू, घरघरमा घटस्थापना गरिँदै, घटस्थापनाकाे उत्तम साइत ११.२९ बजे

बेसीशहर । नेपाली हिन्दूहरूकाे महान पर्व बडादशैंकाे नवरात्र आजदेखि प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिंदैछ ।

तिथि अनुसार आज आश्विन शुक्ल प्रतिपदा हाे । यस दिन घटस्थापना गरेपछि बडादसैं सुरु भएको मानिन्छ ।आज घटस्थापना गर्नका लागि बिहान ११ बजेर २९ मिनेटको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक  समितिले जनाएको छ ।

यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।

बडादसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गर्ने चलन छ । पूजा कोठा वा दसैं घरमा विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ । बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जमरा उमारिन्छ । जमराका लागि जौ वा मकै रोप्ने चलन छ । यसरी उमारिएकाे जमरा जगदम्बा देवी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसंगै लगाउने चलन छ । जमरालाइ समृद्धिको प्रतीक पनि मानिन्छ ।

नवरात्रभर दुर्गा देवीका विभिन्न ९ वटा रूप रूपसहित बिशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा गरिएकाे हाे । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

नवदुर्गाकाे पहिलाे दिन शैलपुत्री, दाेस्राे दिन ब्रह्मचारिणी, तेस्राे दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यी नाै नाम देवी दुर्गाकै हुन् । शुम्भ, निशुम्भ लगायतका अशुरी प्रबृत्तिकाे अन्त्यका लागि यी नाै वटा रूप धारण गरेकाे शास्त्रमा उल्लेख भएकाे पाइन्छ ।

यस बर्षकाे बिजया दशमी कार्तिक ७ गते परेकाे छ । विजया दशमीकाे टीकाकाे साइत बिहान ११.०२ बजे उत्तम रहेकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएकाे छ ।

प्रतिक्रिया