चैतेदशैंको अवसरमा खुला म्याराथन: दोलखाका कूल बहादुर बस्नेत भए प्रथम

खबरकुञ्ज

बेसीशहर, चैत २३ गते । चैतेदशैंको अवसरमा लमजुङ जेसिजले आयोजना गरेको खुला म्याराथनमा दोलखाका कूल बहादुर बस्नेत प्रथम भएका छन् ।

बेसीशहर नगरपालिकाको वडा नंं १० मा रहेको पिस हिल रिसोर्टबाट शुरु भई वडा नंं ३ को ऐतिहासिक लमजुङ दरबारसम्मको २६ किलोमिटर दुरीको म्याराथनमा कूल २ घण्टा १६ मिनेटमा निर्धारित दुरी पार गर्दै जर्सी नंं ६ का बस्नेतले पहिलो स्थान प्राप्त गरेका हुन् । शनिबार बिहान ७.३३ बजे दौड शुरु गरेका उनी बिहान ९.४९ मा लमजुङ दरबार पुगेका थिए ।

त्यसैगरि निर्धारित दुरी २ घण्टा १८ मिनेटमा पुरा गर्दै तनहूँका जर्सी नंं २१ का आदित्य जिसीले दोस्रो स्थान जितेका छन् । उनी बिहान ९.५१ मा लमजुङ दरबार पुगेका थिए ।

जर्सी नंं २० का गौतम श्रेष्ठले निर्धारित दूरी २ घण्टा २३ मिनेटमा पुरा गर्दै तृतीय र जर्सी नंं ७ का रामजी बस्नेतले २ घण्टा ३६ मिनेटमा निर्धारित दूरी पार गरे ।

अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको अवसरमा लमजुङ जेसीसले पिस हिल रिसोर्टसंगको साझेदारीमा प्रतियोगिता आयोजना गरेको हो ।

पिसहिलबाट सुरु भएको म्याराथन भुस्मे, खुदी, बेसीशहर हुँदै गाउँशहरस्थित लमजुङ दरबारमा पुगेर सम्पन्न भएको थियो ।

पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको प्रतियोगितामा प्रथम भएका बस्नेतले नगद ३० हजार, पदक र प्रमाणपत्र पुरस्कार जितेका छन् । द्वितीय स्थान प्राप्त गरेका जिसीले नगद १५ हजारका साथ पदक र प्रमाणपत्र पुरस्कार पाए । 

३५ जनाको सहभागिता रहेको म्याराथनमा उत्कृष्ट ८ जनालाई सान्त्वना पुरस्कारस्वरूप जनही १ हजार रुपैयाँ प्रदान गरिएको छ । सहभागीमध्ये एक महिलालाई पिस हिलको तर्फबाट प्रोत्साहन स्वरुप ३ हजार पुरस्कार दिइएको थियो ।

पुरस्कृत सबैलाई बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, लमजुङ जेसिजका अध्यक्ष प्रतीकजंग तामाङले पुरस्कार वितरण गरेका थिए ।


प्रतिक्रिया