बेसीशहर । लमजुङको सदरमुकाम बेसीशहरमा भएका श्रृंखलाबद्ध सुनका गहना चोरी भएको घटनाको पहिलो कडी पत्ता लागेको छ ।
बेसीशहर बजारका विभिन्न घरहरुमा भएको सुनका गहना चोरीको घटनामा संलग्न भएको अभियोगमा एकजना २७ बर्षिया युवतीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो ।
बेसीशहर बजारका विभिन्न घरबाट केही महिना यता विभिन्न समयमा सुनका गहनाहरु चोरी भइरहेका थिए । सुनका गहना चोरी भए पनि कोही आफन्तैबाट वा नजिकैको ब्यक्तिले चोरेको हुन सक्ने अनुमानका बीच चोरीको बारेमा सार्वजनिक भइरहेका थिएनन् ।
यसैबीच गत साउन ३० गते बेसीशहरको वडा नंं ८ मा रहेको न्यू इरा अंग्रेजी विद्यालयको पछाडि रहेको शम्भुप्रसाद घिमिरे तथा बालकुमारी घिमिरेको घरबाट १२ तोला तौलका सुनका विभिन्न गहनाहरु चोरी भएपछि भने घटना प्रहरीमा पुग्यो । त्यसपछि चोरीको घटनाको अनुसन्धान थालेको प्रहरीलाई लगत्तै अर्को चुनौति थपियो । भदौ १ गते बेसीशहरकै वडा नंं ६ चनौटेबाट थप साढे १२ तोला सुनका गहना चोरी भए ।
लगत्तै बेसीशहर ८ का घिमिरे दम्पतीकै घर नजिकै थप दुई घरबाट पनि ठूलै परिमाणमा सुनका गहना चोरी भएको रहस्य बाहिरियो ।
चुनौति झनै थपिएपछि प्रहरीले अनुसन्धानलाई थप सुक्ष्म रुपले अघि बढाएको थियो ।
प्रहरीमा उजुरी गर्दा पनि हराएका सुनका गहना फेला नपरेको भन्दै प्रहरीकै समेत आलोचना भइरहेको बेला प्रहरीले बेसीशहर लगायत जिल्लाका विभिन्न सुनचाँदी पसल, संकास्पद ब्यक्तिहरुमा प्रहरीले निगरानी गर्ने सोधपुछ गर्ने गरिरह्यो र अनुसन्धानमा सफलता पाउँदै गयो ।
अनुसन्धानका क्रममा केही ब्यक्ति पक्राउ समेत गरेको प्रहरीले अन्ततः बेसीशहर बजारमा भएका श्रृंखलाबद्ध चोरीमा एक जना युवती संलग्न रहेको र चोरीको सुन बैंकमा राखेर पैसा समेत झिकेको प्रमाण फेला पारेपछि प्रहरीले आइतबार उनलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकी युवती बेसीशहरको वडा नं. ८ निवासी सुजा घिमिरे रहेको प्रहरीले जनाएको छ । ग्रामीण सामुदायिक विकास केन्द्रमा काम गर्ने घिमिरेले उक्त कार्यालय रहेको बेसीशहरको वडा नंं ७ मा रहेको खिनमाया रिमालको घरबाट समेत १० ताेाल बढी सुनका गहना चोरी गरेको र ती गहना उनले नेपाल बैंक लिमिटेडमा राखेर ऋण समेत लिएको खुल्न आएको अनुसन्धानमा खटिएका प्रहरीले जानकारी दिए ।

आइतबार उनलाई पक्राउ गरेपछि प्रहरीले उनकै घरबाट समेत चोरी गरिएका गहना बरामद गरेको थियो । उनको घरबाटै बरामद भएका सुनका गहना गत साउन ३० गते बेसीशहरको न्यु इरा अंग्रेजी स्कूल अगाडि रहेको बालकुमारी घिमिरेको रहेको समेत पुष्टि भएको छ ।
साेमबार जिल्ला प्रहरी कार्यालय लमजुङमा पुगेका बालकुमारी घिमिरेले केही बाहेक धेरै गहना फेला परेका बताइन् । त्यस्तै खिनमाया रिमालले समेत छाेरीहरूका गहना घरबाटै हराएकामा धेरै फेला परेका जानकारी दिइन् । उनीहरूले भने–"अब हामी जाहेरी दिने तयारीमा छाैं ।"
पक्राउ परेकी घिमिरेलाई जिल्ला अदालतबाट सोमबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
याे पनि हेर्नुहाेस् ।
बेसीशहरमा सुनचाेरीका श्रृंखलाबद्ध घटना, चनाैटेबाट साढे १२ ताेलाका गहना र नगद चाेरी
बेसीशहरकाे एक घरबाट दिनदहाडै १२ ताेला सुनका गहना चाेरी