काठमाडाैं । सत्ता गठबन्धनमा रहेकाे नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ । टीकापुर घटनाका सम्बन्धमा उच्च अदालतले रेशम चौधरीलाई गरेकाे जन्मकैदकाे फैसला सर्वाेच्च अदालतले सदर गरे लगत्तै उक्त पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसहितका अान्दाेलनका कार्यक्रम सार्वजनिक गरेकाे हाे ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनकाे अायाेजना गरी साे पार्टीका वरीष्ठ उपाध्यक्ष दामाेदर पण्डितले टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्नुपर्ने बताए । वरिष्ठ उपाध्यक्ष पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'हिजोको सम्मानित अदालतको फैसला न्यायमूर्तिहरुको निर्णय स्वीकार्य छ तर यो राजनीतिक मुद्दा हो अदालती होइन आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध छ ।'
बिज्ञप्तीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिइएको छ । २०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षले गरेको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन ।