विद्युतीय सुरक्षा दिवसका अवसरमा बेसीशहरमा प्रभातफेरि

बेसीशहर, चैत २६ । लमजुङ सदरमुकाम बेसीशहरमा साेमबार विद्युतीय सुरक्षा दिवस मनाइएको छ ।

‘विद्युतीय दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं’ भन्ने नारामा साथ नेपाल विद्युत प्राधिकरण, लमजुङ वितरण केन्द्रले साेमबार बेसीशहरमा याे दिवस मनाएकाे हाे । यस दिवसको अवसरमा साेमबार बेसीशहर बजारमा केन्द्रले प्रभात फेरि निकालेकाे छ ।

बेसीशहरकाे वडा नं. ३ रानीकुवामा रहेकाे लमजुङ वितरण केन्द्र परिसरबाट सुरु भएको प्रभात फेरि बेसीशहर बजार परिक्रमा गरी केन्द्रकाे कार्यालयमा पुगी समापन भएको थियो । प्रभात फेरिमा सहभागी केन्द्रका कर्मचारीहरुले  प्रलोभनमा नपरौं, विद्युतकाे सुरक्षित उपयोग गरौँ,  सुरक्षा सामाग्रीको साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा, सुरक्षाप्रतिकाे चासाे, दुर्घटनाबाट बच्ने साँचाे, नगरौ है चोरीको धन्दा, परिएला कानूनको फन्दा लगायतका जनचेतनामुलक नारा लेखिएका प्लेकार्ड र ब्यानर लिएका थिए ।

नेपाल विद्युत प्राधिकरण, लमजुङ वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराइले विद्युतीय क्षेत्रमा काम गर्दा सुरक्षा सबैभन्दा ठूलो कुरा रहेकाले र्मचारीलाई काम गर्ने क्रममा अपनाउनु पर्ने सावधानी बारे सचेत गराउन र समुदायलाइ समेत विद्युतीय सुरक्षा र विद्युत चाेरी, विद्युतकाे सुरक्षित उपयाेगका विषयमा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएकाे जानकारी दिए ।

भट्टराइले विद्युतीय जोखिमका विषयमा सर्वसाधरणलाइ जानकारी र स्वयम् कर्मचारीलाई पनि कार्य सम्पादन गर्ने क्रममा सुरक्षा अपनाउनु पर्ने लगायतका बारेमा जानकारी दिने उद्देश्यले हरेक बर्ष चैत २६ गते याे दिवस मनाउने गरिएकाे जानकारी दिए ।

प्रतिक्रिया