मालिका देवी धार्मिक महोत्सवमा झण्डै दुई करोड रुपैयाँ संकलन

खबरकुञ्ज

बेसीशहर, बैशाख १६ । प्रसिद्ध धार्मिकस्थल लमजुङको मध्यनेपाल नगरपालिका १० मा रहेको मालिका देवीको मन्दिरलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न आयोजना गरिएको मालिका देवी धार्मिक महोत्सवमा झण्डै दुई करोड रुपैयाँ संकलन भएको छ ।

मध्यनेपाल नगरपालिकाको आयोजना, मध्यनेपाल वडा नंं १० को वडा कार्यालयको संयोजनमा गत बैशाख ७ गतेबाट शुरु भएको धार्मिक महोत्सव अन्तर्गत श्रीमद्भागवत महापुराणमा एककरोड ८० लाख २९ हजार ५१० रुपैयाँ संकलन भएको मध्यनेपाल नगरपालिकाका प्रवक्ता एवं वडा नंं १० का अध्यक्ष एबं धार्मिक महोत्सवका संयोजक रामचन्द्र भण्डारीले जानकारी दिए ।

मध्यनेपाल नगरपालिकालाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न प्रयासरत मध्यनेपाल नगरपालिकाले विख्यात मालिका देवी मन्दिरलाई धार्मिक र ऐतिहासिक सम्पदाको रुपमा विकास गरी धार्मिक पर्यटक भित्राउने र स्थानीयको आर्थिकस्तर उकास्ने योजना अनुसार तीन बर्ष अघि नै गुरुयोजना निर्माण गरेको थियो । सोही गुरुयोजनालाई मूर्त रुप दिन धार्मिक महोत्सव आयोजना गरिएकोमा महोत्सव सफल भएको मध्यनेपाल नगरपालिकाका मेयर रमेश पाण्डेले बताए ।


महापुराणमा देश विदेशमा रहेका मध्यनेपाल नगरपालिकाको वडा नं. १० थान्सिङ नेटाका स्थानीयले मन फुकाएर दान गरेका थिए । यसबाहेक मध्यनेपाल नगरपालिकाको वडा नं. ६, ७, र सुन्दरबजार नगरपालिकाको वडा नं. ६ का स्थानीयले समेत धार्मिक महोत्सवमा गच्छे अनुसारको दान दिएका थिए ।

महायज्ञमा वाचक पण्डित ईश्वर रेग्मीले कथा वाचन गरेका थिए । बिहान ७ बजेदेखी पूजा-अर्चना र आरती सुरु गरी दिउसो श्रीमद्भागवत पाठ, सङ्गीतमय प्रवचन र साँझ भक्ति सङ्गीत र आरती गरिएको थियो ।


मध्यनेपाल नगरपालिकाकै आस्थाको धरोहरको रुपमा रहेको मालिका देवी मन्दिरको उचित ब्यवस्थापन गरी मन्दिरको महिमा लाई समग्र लमजुङका साथै देश विदेशमा फैलाउन धार्मिक महोत्सवको आयोजना गरिएको हो ।

मालिका देवी मान्छेको रुपमा जन्म लिएर देवीको रुपमा पुजिएकी देवी हुन् । तिनै मालिका देवी कोइरालाहरुका कूलदेवीसमेत हुन् ।

प्रतिक्रिया