बेसीशहर बजारमा एकाबिहानै लाेपाेन्मुख चरीबाघ भेटियाे, वन कार्यालयले गर्याे उद्धार

बेसीशहर । लमजुङकाे सदरमुकाम बेसीशहरमा संरक्षित स्तनधारी बन्यजन्तु चरिबाघ भेटिएकाे छ । बेसीशहरकाे ल्याण्डस्टार मार्गमा पर्ने नीरबहादुर पाैडेलकाे करेसाबारीमा चरीबाघ भेटिएकाे हाे ।

पाैडेलकाे करेसाबारीमा बिहानै चरीबाघ पसे पछि अत्तालिएका स्थानीयले प्रहरीमा खबर गरेका थिए । प्रहरीले डिभिजन वन कार्यालयमा खबर गरेपछि प्रहरीलाइ साथमा लिएर डिभिजन वन कार्यालय लमजुङका कर्मचारी गुणाबहादुर ग्लान उक्त चरीबाघकाे उद्दारमा गएका थिए ।

पाैडेलकाे घरनजिकैकाे केराकाे गाँजमा लुकेकाे चरीबाघ ग्लानसहितकाे टाेली नगिचै पुगी समात्नै लाग्दा भागेकाे थियाे । मानिसहरूकाे हल्ला खल्ला सुनेर भागेकाे चरीबाघ नजिकै खेतमा गएर लुक्याे । लगत्तै डिभिजन वन कार्यालयका फरेस्टर ग्लानले बाेराकाे सहायताले हातैले समातेर चरिबाघलाइ नियन्त्रणमा लिएका थिए ।

चरीबाघ नियन्त्रणमा लिएपछि खाेरमा राखि उसकाे प्राकृतिक बासस्थानमा लगेर छाडिएकाे छ ।

चरीबाघलाइ नियन्त्रणमा लिएका डिभिजन वन कार्यालयका फरेस्टर गुणाबहादुर ग्लानका अनुसार उक्त चरीबाघ अाहाराकाे खाेजीमा बजारमा पसेकाे अनुमान गरिएकाे छ । चरीबाघले जंगलमा चरा, बनकुखुराहरूकाे शिकार गरी खाने गर्दछ । यसकाे अंग्रेजी नाम Leopard Cat र बैज्ञानिक नाम Prionailurus bengalensis हाे ।

चरीबाघ चितुवाकै रूप रंगकाे हुन्छ तर याे अाकारमा चितुवा भन्दा सानाे हुन्छ । चरीबाघ नियन्त्रणमा लिने फरेस्टर ग्लानका अनुसार उक्त चरीबाघ करीब ८ बर्ष उमेरकाे थियाे । बुढाे भएर सहजै शिकार गर्न नसकेपछि अाहाराकाे खाेजीमा बजारमा छिरेकाे हुन सक्ने उनले बताए । ग्लानले भने– "चरीबाघ चितुवा जस्ताे खतरनाक हुँदैन । खतरनाक हुने भए त हातैले समात्न कहाँ सकिन्थ्याे र ? "


प्रतिक्रिया