बेसीशहर जेठ १४ गते । ऐतिहासिक एवं पर्यटकीयस्थल हर्सिङ डाँडामा तत्कालीन खुदी गाविसका अध्यक्ष एव नेकपा एमालेका नेता स्व. सुकमान गुरूङकाे अर्धकदकाे शालिक अनावरण गरिएकाे छ ।
२३ औं सुकमान स्मृति दिवसका अवसरमा नेकपा एमाले मर्स्याङदी गाउँपालिका वडा नं. ३ वडा कमिटीकाे आयाेजनामा साेमबार हर्सिङडाँडामा आयाेजित एक भब्य समाराेहबीच स्व. गुरूङकाे शालिक अनावरण गरिएकाे हाे । नेकपा एमालेका केन्द्रीय सदस्य एव लमजुङका ८ वटै पालिकाका इन्चार्ज जमीन्द्रमान घलेले स्व. सुकमानकाे शालिक अनावरण गरेका हुन् ।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि घलेले स्व. सुकमान गुरूङ इमान्दार, विकासप्रेमी र हक्की नेता रहेकाे स्मरण गर्दै उनकाे निधनले पार्टीलाइ अपुरणीय क्षति पुगेकाे बताए । उनले सुकमान जस्ता कयाैं शहिदकाे बलिदानले नै नेकपा एमाले सशक्त पार्टी बनेकाे भन्दै शहिदकाे सपना पुरा गर्न र उनीहरूले देखाएकाे बाटाेमा हिँड्नु सबै कार्यकर्ताहरूकाे कर्तब्य रहेकाे बताए ।
कार्यक्रममा बाेल्दै मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले स्व. सुकमान गुरूङले तत्कालीन खुदी गाविसकाे अध्यक्षकाे रूपमा त्यस क्षेत्रकाे विकासमा खेलेकाे भूमिकाकाे चर्चा गर्दै उनले नेकपा एमालेकाे संगठनमा पुर्याएकाे याेगदानकाे समेत चर्चा गरे ।

कार्यक्रममा नेकपा एमाले मर्स्याङदी गाउँ कमिटीका अध्यक्ष प्रेमबहादुर बस्नेत, सहिद तथा बेपत्ता स्मृति प्रतिष्ठानका अध्यक्ष दयासागर घिमिरे लगायतले स्व. सुकमानले पार्टी र समुदायमा पुर्याएकाे याेगदानबारे चर्चा गर्दै उनकाे पथमा लाग्न अनुराेध गरेका थिए ।
शालिककाे अनावरणका अवसरमा उपस्थित स्व. सुकमानकी अामा, श्रीमती, अाफन्त, गाउँले तथा सहभागीहरू स्व. सुकमानलाइ सम्झेर भावुक बनेका थिए ।

२०२५ कार्तिक २२ गते खुदीकाे ढंगैगाउँमा जन्मेका सुकमान खुदी गाविसका तत्कालीन अध्यक्ष थिए । गुरुङको २०५८ जेठ १४ गते नेकपा एमालेको सञ्चालन गरेकाे भ्रष्टचार विरूद्वको आन्दोलनको क्रममा बेंसीसहरको शेरामा प्रहरीले चलाएकाे गोली लागि निधन भएकाे थियाे ।
खबरकुञ्ज